मिटरब्याजीले अदालतमै पीडितलाई कुटे, रातभर प्रहरी कार्यालयअगाडि धर्ना

मिटरब्याजीले अदालतमै पीडितलाई कुटे, रातभर प्रहरी कार्यालयअगाडि धर्ना


लहान ।

सिरहाका मिटरब्याज पीडितहरू जिल्ला प्रहरी कार्यालय अगाडि धर्नामा बसेका छन्।  उनीहरू बुधबार बेलुकीदेखि खुला आकाशमुनि धर्नामा बसेका हुन्।

बुधबार दिउँसो सिरहा जिल्ला अदालत परिसरमै साहुबाट मिटरब्याज पीडितमाथि कुटपिट भएपछि उनीहरू सामूहिक धर्नामा बसेका हुन्।

सिरहा विष्णुपुरका मिटरब्याजी श्याम निरौलाले पीडितहरू ककुलती देवी यादव र सुकुमारी देवी साहमाथि कुटपिट गरेका थिए। निरौलामाथि अनुचित लेनदेनका विषयमा अदालतमा मुद्दा चलिरहेको छ।

उनीमाथि ४ दर्जनभन्दा बढी उजुरी र जाहेरी छ। यसै मुद्दामा पक्राउ परेर गत असारमा तीन लाख धरौटीमा उनी रिहा भएका थिए।

सोही मुद्दाको बकपत्रका लागि अदालत गएका पीडितहरूमाथि कुटपिट भएको हो। घटनापछि प्रहरीले निरौलालाई पक्राउ गरेपनि केहीबेरमै छाडिदिएपछि पीडितहरू आक्रोशित छन्।
कुटपिट घटनामा उनीमाथि कारबाही हुनुपर्ने माग पीडितहरुको छ। तर सिरहा प्रहरी पीडितमैत्री नभई पीडकमैत्री भएको धर्नामा बसेकाहरुको आरोप छ।