सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ,पोखरा लगियो

सूर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ,पोखरा लगियो


काठमाडौं ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्।

सहकारीमा बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको आरोपमा फरार रहेका उपाध्यक्ष दर्लामीलाई प्रहरीले बिहीबार पक्राउ गरी पोखरा पठाएको छ।

काठमाडौं प्रहरी स्रोतका अनुसार उपाध्यक्ष दर्लामी सिन्धुलीबाट पक्राउ परेका हुन्। उनलाई काठमाडौंको टोलीले सिन्धुली पुगेरै पक्राउ गरी ल्याएको स्रोतले बतायो।

यो सहकारीबाट पक्राउ पर्ने उपाध्यक्ष दर्लामी दोस्रो व्यक्ति हुन्। यसअघि कोषाध्यक्ष कुमार रम्तेल काठमाडौंबाटै पक्राउ परेका थिए।

उनलाई पनि काठमाडौंको टोलीले पक्राउ गरी पोखरा पठाएको थियो।

मुख्य अभियुक्त भने जिबी राई छन्। उनीसहित १७ जना अझै फरार छन्। कास्की प्रहरीले यस प्रकरणमा चार जनाविरूद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गर्ने तयारी गरेको छ।

त्यसका लागि पुस ५ गते कास्की प्रहरीले प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा पत्राचार गरेको थियो। उक्त शाखाले कागजातहरू अध्ययन गरिरहेको छ।

जिबी राई, पूर्वअध्यक्षद्वय भूपेन्द्र राई र थानबहादुर बुढामगर तथा पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरूङविरूद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी गर्ने तयारी प्रहरीको छ।

जिबी राई ग्यालेक्सी फोर-के टेलिभिजनका सञ्चालक समेत हुन्। उनीविरूद्ध अरू सहकारीमार्फत ठगी गरेको समेत आरोप छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा १ हजार ३६ जनाले उजुरी दिएका छन्। जसअनुसार एक अर्ब ११ करोड रूपैयाँ अपचलन भएको उजुरी छ। त्यसबाहेक पनि उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ।