मन्त्रीको गाडीमा आगो लगाउने १७ जना पक्राउ, एक जनाको मृत्यु

मन्त्रीको गाडीमा आगो लगाउने १७ जना पक्राउ, एक जनाको मृत्यु


काठमाडौं ।

ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको सरकारी गाडीमा आगजनी गरेको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।

आन्दोलित इपिएस परीक्षार्थीहरूहरूले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेपछि स्थिति तनावग्रस्त बनेको हो।

घटनास्थलबाट १७ जनालाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए।

उनकाअनुसार प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए।प्रहरीले हवाइफायर र अश्रुग्यास प्रहार गरेको हो।

अहिले ग्वार्को-बालकुमारी क्षेत्रमा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरिरहेको छ।

मन्त्री ज्वालाले प्रयोग गर्ने बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी भएको थियो।

मन्त्रीको गाडीमा तोडफोडसँगै सार्वजनिक बसमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन्।

बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलाउँदा १ जनाको मृत्यु भएको छ ।

गोली लागेर घाइते भएका किस्ट अस्पतालमा लगिएका १ युवाको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

यस्तै प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का युवकको अवस्था पनि चिन्ताजनक रहेको बताइएको छ । उनलाई उपचारका लागि किस्ट अस्पताल लगिएको छ ।