मन्त्रिमण्डल हेरफेर हुन सक्छ : मन्त्री गुरुङ

मन्त्रिमण्डल हेरफेर हुन सक्छ : मन्त्री गुरुङ


स्याङ्जा ।
सरकारको नेतृत्व गरेको १ वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिमण्डल हेरफेर हुने बताइरहेका बेला उनकै मन्त्री कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिमण्डल हेरफेर हुने बताएका छन् ।

प्रधानमन्त्रीले आफ्ना मन्त्रीहरूकै कारण सरकारको कार्यसम्पादनमा कठिनाइ भएकाले मन्त्रिमण्डल हेरफेर गर्ने बताएका थिए । नेपाल प्रेस युनियन स्याङ्जाले वालिङमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री गुरुङले सरकारमा बसेर काम गर्न नसक्ने मन्त्रीहरू हेरफेर गर्ने विषयमा नेपाली कांग्रेसले सहयोग गर्ने संकेत गरेका छन् ।
प्रधानमन्त्रीको कामलाई स्पिडमा सहयोग गर्न नसक्ने मन्त्रीहरू फेरिनु आवश्यक रहेको र यसमा कांग्रेसले पनि सहयोग गर्ने बताए ।

‘सरकारको नेतृत्व गरेका प्रधानमन्त्रीले काम नगर्ने मन्त्री हेरफेर गर्नु कुनै नौलो होइन,’ मन्त्री गुरुङले भने, ‘प्रधानमन्त्रीलाई काम गर्ने वातावरण सत्ता साझेदार दलहरूले दिनुपर्छ ।’ प्रधानमन्त्रीको स्पिडमा मन्त्रीहरूको कार्यसम्पादनमा सहयोग मिल्यो भने मात्रै सरकारले गति लिने उनले बताए ।

३ दिनदेखि आफ्नो गृह जिल्लामा रहेका मन्त्री गुरुङले पत्रकारहरूसँग मुलुकमा एकपछि अर्को भ्रष्टाचार मौलाउँदै जानु दुःखद् भएको जिकिर गरे । अख्तियारमा भ्रष्टाचारका फाइल थन्क्याएर राख्नुभन्दा स्वतन्त्र भएर छानबिन गर्न अख्तियार डराएको तर्क राखे ।

‘अख्तियार स्वतन्त्र आयोग हो,’ मन्त्री गुरुङले भने, ‘भ्रष्टाचारमा ठुला नेताको नाम आउनेबित्तिकै किन डराउँछ ?’ अख्तियारको काम कारबाहीमा सुस्तता हुँदा मुलुकमा भ्रष्टाचार मौलाएको उनले बताए । एनसेल, सुनकाण्ड, भुटानी शरणार्थीलगायत काण्डमा सरकारले कडा छानबिन गरी दोषीलाई कारबाही गर्ने विश्वास मन्त्री गुरुङले दिलाए ।
सत्ता साझेदार नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका मन्त्री गुरुङले प्रधानमन्त्रीलाई भ्रष्टाचार नियन्त्रण र विकासका योजनामा पार्टीले साथ दिने दाबी गरे । मुलुकलाई आर्थिक चलायमान बनाउँदै भ्रष्टाचार नियन्त्रण गर्ने सरकारको पहिलो प्राथमिकता रहेको उनले बताए ।

मन्त्री गुरुङले आफूले निर्वाचनका बेला स्याङ्जाका विभिन्न क्षेत्रमा गरेका बाचाहरू क्रमशः पूरा गर्दै जाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सडकका पूर्वाधारहरू बिस्तारै पूरा हुँदै जाने उनले बताए ।
स्याङ्जाको विकाससँग जोडिएको सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए । ‘जिल्लाको विकासमा म चिन्तित छु,’ उनले भने, ‘विकास भन्ने कुरा बिस्तारै हुँदै जाने रहेछ, भन्नेबित्तिकै नहुने रहेछ ।’ ५ वर्षमा आफूले जिल्लाको मुहार फेर्नेमा दत्तचित्त भएर लाग्ने उनले बताए ।

नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेको अध्यक्षता र सचिव शंकर सुवेदीले सञ्चालन गरेको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष गोपीकृष्ण रेग्मीले गरेका थिए ।