गेटा विमानस्थल विस्तारको योजना अघि बढेन

गेटा विमानस्थल विस्तारको योजना अघि बढेन


काठमाडौं ।
धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्नसकेको छैन ।

२०७८ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो ।

२ वर्षअघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित १ अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो ।

धनगढीको गेटालाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न २५० बिघा जमिन अधिग्रहण गरेर १ हजार ८०० मिटरको धावनमार्गलाई बढाएर २ हजार ५०० मिटरको बनाउने योजना बनाइएको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए । उनका अनुसार हालसम्म विमानस्थल विस्तारको कुनै काम अगाडि बढेको छैन ।

विमानस्थल प्रमुख सिंहले सरकारले चालु आर्थिक वर्षमा गेटा विमानस्थल विस्तार गर्न बजेट विनियोजन नगरेको जानकारी दिए । उनका अनुसार तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगर अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो ।

२ वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयबासीको जग्गा अधिग्रहण गर्न १५ देखि १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको भए पनि बजेटको सुनिश्चितता नहुँदा जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ ।

‘विमानस्थल विस्तारको काम अगाडि बढाउन जग्गाको मुआब्जा दिनुपर्ने हुन्छ । मुआब्जा दिन नसक्दा सबै काम स्थगन गरिएको छ’, विमानस्थल प्रमुख सिंहले भने । उनका अनुसार २०७८ सालको अन्तिमतिर रियल पाथ इन्जिनियरिङ कन्सलटेन्सीले जग्गा नापजाँचको काम गरेको थियो ।

करिब ४५ मिटर चौडाइको २ हजार ५५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्यांगर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन, उद्धार तथा चक्रपथसहितका पूर्वाधार निर्माण गरिने गुरुयोजनामा उल्लेख छ ।