मेरो कुरा कसैले पनि बुझ्दैन : सुदन किराती

मेरो कुरा कसैले पनि बुझ्दैन : सुदन किराती


काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो कुरा कसैले नबुझ्ने भन्दै गुनासो गरेका छन् ।

नेपाल पर्यटन बोर्डको २५ औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले भने, ‘मेरो कुरा कसैले पनि बुझ्दैन, त्यसैले पीडा हुन्छ ।’

उनले यो विषय रैथाने पर्यटन प्रवर्द्धन गर्ने सन्दर्भमा उल्लेख गरेका हुन् । आफूले नेपालीपनको पर्यटन नेपालमा विकास गर्नुपर्छ भन्दै आएको भन्दै उनले भने, ‘नेपालको प्रकृति भव्य छ, संस्कृति भव्य छ, संस्कृति र प्रकृतिको समायोजनबाट हुने पर्यटन नेपालीपनको हुन्छ ।’

यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनुपर्ने भन्दै उनले काठमाडौंमा मात्र विकास गरेर पर्यटनको विकास नहुने बताए ।

नेपालका जात्रा महोत्सवहरुलाई अन्तर्राष्ट्रियकरण गर्न नसकिएको उनले स्वीकार गरे । ‘कुनै देशमा गोरू जुधाएको हेर्न एक महिना अगाडिदेखि टिकट बुकिङ गर्छ, हामीले त्यस्ता गोरू कति जुधायौं जुधायौं,’ उनले भने, ‘भक्तपुरमा जिब्रो छेड्ने मौलिक जात्रा छ, त्यही जात्राको एक रातमै ५ लाख पर्यटक भित्र्याउने संकल्प हामी किन गर्न सक्दैनौं ?’ यो विना बोकेर कस्तुरी उफ्रिएजस्तै भएको उनले बताए ।