बल प्रयोग नगरेको भए अरू थप घटना हुन सक्थ्यो : आईजीपी कुँवर

बल प्रयोग नगरेको भए अरू थप घटना हुन सक्थ्यो : आईजीपी कुँवर


काठमाडौं ।

नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले बालकुमारीमा प्रहरीले बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने बताएका छन् ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा जवाफ दिँदै उनले घटनास्थलको अवस्थाको बारेमा मन्त्रीको पीएसओले समेत समन्वय नगरेको बताए ।

उनले जवाफ दिए अनुसार घटना भएको दिन ११ः५४ मा नेपाली सेनाको पीएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको बताए। उनले भने,‘ युवाहरू अराजक रूपमा प्रदर्शनमा थिए । मन्त्रीको गाडीको टायर खोले । १२ः२० मा मन्त्रीको गाडी आगो लगाइदिए । कति बेर गोली चल्यो भन्ने कुरा छानबिनबाट आउँला ।’ उनले प्रहरी घटनास्थलमा पुग्नु अघि नै मन्त्रीको गाडी जलिसकेको बताए । कुँवरका अनुसार प्रहरी तर्फ आठ जना घाइते भएका छन् । बागमती यातायातको एउटा बस तोडफोड भएको, बीएण्डबीमा रहेको सीसीटीभी टोडफोड भएको र १३ वटा प्रहरीको सिल तोडफोड भएको जानकारी बैठकमा कुँवरले दिए ।

उनले भने,‘ विषम परिस्थितमा बल प्रयोग भएको हो । प्रहरीले अलिकति धैर्यता गुमाएको अवस्था हो । फिल्डमा खटिएका प्रहरीले घटनास्थलको आङ्कलन गरेर अगाडी बढ्छ । मन्त्रीको गाडी जलाउन लाग्यो भनेपछि अलिकति प्रहरीको आवेश देखिन्छ ।’