पीएसओले सुरक्षाकर्मी पठाउन आग्रह गरेका थिए, तर २० मिनेटसम्म पनि सुरक्षाकर्मी पुगेनन्: मन्त्री ज्वाला

पीएसओले सुरक्षाकर्मी पठाउन आग्रह गरेका थिए, तर २० मिनेटसम्म पनि सुरक्षाकर्मी पुगेनन्: मन्त्री ज्वाला


काठमाडौं ।

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रूट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताएका छन्।

सोमबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले गत शुक्रबार आफूले बालकुमारी क्षेत्रको रूट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको बताएका हुन्।

गत शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले सोही रूट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाहरूको ज्यान समेत गएको थियो।

सोही विषयमा कुरा गर्दै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिनपनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए।

उनले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरू बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भएपनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको बताए।

‘बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ? त्यहाँ डिस्टर्ब छ कि छैन? अथवा परिस्थिति के छ? रूटको अवस्था के छ? त्यो हामीलाई केही पनि थाहा भएन। हामी सामान्य अवस्थामा बाहिर निस्कियौं,’ उनले भने, ‘निस्किदाखेरी पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रूपमा बाहिर निस्कियौं।’

आफूहरू निस्किसकेपछि केही व्‍यक्तिहरूले अवरोध गरेको र कतिपयले जान दिऊ भनेर प्रयास गरेपनि नसकेको उनले बताए। पिएसओले पनि प्रयास गर्दा पनि नभएपछि आफू फर्किएको उनले बताए।

अवरोध भइसकेपछि पिएसओले प्रदर्शनकारीहरूले आफूहरूलाई घेरेको भनेर जाहेर गरिरहेको पनि उनले बताए।

‘हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पिएसओले बारम्बार यहाँ गाडी सडकमा छ। प्रदर्शनकारीहरूले घेरिरहेका छन्। छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उसले कम्युनिकेशन गरिरहेका थिए,’ उनले भने, ‘त्यति हुँदा पनि करिब २०-२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मीहरू पुगेनन्। त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ।’आफूहरू निर्दोष हुँदाहुँदै पनि आरोप लगाइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।