उद्योगीले ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने, हिमाल आइरनको लाइन जोडियो

उद्योगीले ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने, हिमाल आइरनको लाइन जोडियो


काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने उपभोक्तालाई छुट बिलिङ गरिएको विद्युत खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड) को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्था ल्याएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको हो, त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए।

बिगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत प्रणालीमा निरन्तर विद्युत आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रंक लाइन (एक सबस्टेसनबाट अर्को सबस्टेसन जोड्ने लाइन) बाट विद्युत आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत महसुल भुक्तानीका लागि पटकपटक ताकेता एवं सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको थियो।

उक्त महसुल बुझाउन अस्वीकार गरेपछि प्राधिकरण, विद्युत वितरण विनियमावली, २०७८ विनियम ३१ तथा विद्युत महसुल संकलन विनियमावली, २०७८ को विनियम १० बमोजिम २०८० पुस ६ गतेबाट विद्युत लाइन काट्न थालिएको थियो।

हिमाल आइरनले तिर्‍यो पहिलो किस्ता, लाइन जोडियो

बारा–पर्सा औद्योगिक करिडोर अन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टीलले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत खपत गरेवापत गरिएको छुट बिलको बक्यौता रकम तिर्न सुरू गरेको छ। आठ करोड १२ लाख रुपैयाँ बक्यौतामध्ये हिमाल आइरनले सोमबार पहिलो किस्ताबापत २७ लाख १० हजार रूपैयाँ बुझाएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।

उपकार्यकारी निर्देशक सिलवालले उद्योगले बक्यौताको पहिलो किस्ता बुझाएपछि सोमबार रातको सभा ९ बजे विद्युत् लाइन जोडिएको बताए। प्राधिकरणले उद्योगको लाइन शुक्रबार काटेको थियो। उद्योगले ३६ किस्तामा बक्यौता रकम तिर्ने बताइएको छ।