रवि लामिछानेले कान्तिपुरविरुद्ध हाले मुद्दा

रवि लामिछानेले कान्तिपुरविरुद्ध हाले मुद्दा


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् ।

मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्ये एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो।

मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।’

के लेखिएको छ मुद्दामा ? 

‘कान्तिपुर पत्रिकामार्फत तथा अनलाइन पत्रिका ekantipur.com समेतबाट मिति २०८०/०९/०९ गतेदेखि हालसम्म प्रकाशन गरेको गलत समाचार कुनै हालतमा क्षम्य हुन सक्दैन। गैरजिम्मेवार तबरले कपोलकल्पित समाचार प्रकाशन गरी मलाई लाञ्छित गर्ने, मेरो दशकौं लामो सामाजिक, व्यावसायिक, राजनैतिक तथा पेसागत जीवन समाप्त पार्ने कुनियत राख्ने, चरित्र हत्या गर्ने तथा मानमर्दन गर्ने अधिकार यी विपक्षी प्रतिवादीहरूलाई छैन। पत्रकारिताको मूल मन्त्रलाई बिर्सेर गरिएको प्रकाशन नितान्त दोषयुक्त छ। यस्तो झुट समाचार सम्पादन तथा प्रकाशन गर्ने विपक्षी प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही नगर्ने हो भने पत्रकारिताको नाउँमा जसले जे गरे पनि हुने परिस्थिति सिर्जना हुनुका अतिरिक्त कानूनी व्यवस्था समेत निष्प्रभावी हुने हुँदा मेराविरुद्ध झूटो भ्रामक समाचार सम्पादन र प्रकाशन गर्ने विपक्षीहरूलाई हदै सजाय गरी न्याय दिलाई पाऊँ।’

‘म फिरादीको इज्जत, सामाजिक प्रतिष्ठा, राजनैतिक जीवन, सम्मान, पेसा तथा व्यावसायिक जीवनमा समेत गम्भीर धक्का पुर्‍याउने कलुषित मनसाय राखी मेरो इज्जतमा घृणा तथा अवहेलना हुने गरी मैले आर्जन गरेको ख्यातिलाई ध्वस्त पार्ने बदनियत चिताई जानीबुझी सार्वजनिक रूपमा मेरो चरित्र हत्या हुनेगरी विपक्षीहरूले उल्लेखित मिति २०८०/०९/०९ गतेदेखि मिति २०८०/०९/१३ गतेसम्म कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका र अनलाइन पत्रिका ekantipur.com समेतबाट झुटो समाचार सम्प्रेषण एवं प्रकाशन गरी म फिरादीसमेतको नाम जोडी गालि बेइज्जती गरी मुलुकी अपराधसंहिता २०७४ को गाली बेइज्जतीसम्बन्धी परिच्छेदको दफा ३०५, ३०६ को ०१ र ०२ तथा दफा ३०७ को कसुर गर्नु भएकाले विपक्षीहरूलाई ऐ.ऐ, को दफा ३०५ तथा दफा ३०७ बमोजिम हदैसम्मको कैदको सजाय गरी म तथा मेरो परिवारको इज्जत प्रतिष्ठा, व्यवसाय तथा राजनीतिमा समेत हानी नोक्सानी भएकाले सो समेतलाई मध्यनजर गरी यो फिराद पत्र दर्ता गर्न लाग्ने कानून व्यवसायीको फी, वारेस खर्च, अदालती शुल्क लगायतको खर्चसहित समग्रमा मलाई पर्न गएको क्षतिको न्यायोचित मूल्यांकन गरी ऐ. ऐनको दफा ३०७ को १ बमोजिम विपक्षी प्रतिवादीहरूबाट सांकेतिक रूपमा क्षतिपूर्ति रकम रु. १५१ दिलाई भराई पाऊँ।’

May be an image of text