चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भत्काउन निर्देशन

चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भत्काउन निर्देशन


खोटाङ ।

खोटाङको जन्तेढुंगा गाउँपालिकाले वडा-५ चिसापानीमा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन सामग्री प्रयोग गरेको पाइएपछि भत्काउन निर्देशन दिएको छ।

अनुगमनका क्रममा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जगमा गुणस्तरहीन गिटी र बालुवा प्रयोग गरेको पाइएपछि गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले संरचना भत्काएर फेरि बनाउन निर्देशन दिएको हो।

गाउँपालिका प्रमुख अरूणादेवी राईका अनुसार २ वर्षअघि निर्माण सम्पन्न गर्नुपर्ने अस्पताल भवनको पिलर भर्खर ठड्याउन थालिएकाे थियो । अध्यक्ष राईले भनिन्, ‘निर्देशन दिएपछि कम्पनीले निर्माण भत्काउन थालेको छ।’

निर्माणाधीन पालिकास्तरीय अस्पताल भवन २०७९ असार २८ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी २० करोड ७१ हजार ५९० रुपैयाँमा २०७८ असार २५ गते ड्रागन–रियर जेभीसँग सम्झौता भएकाे थियाे ।