राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता


काठमाडौँ ।

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुदैँछ । निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुन लागेको हो ।

कार्यालय समय अनुसार बिहान १० बजे देखी साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नु पर्ने निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभाका २० सिटको पदावधि आगामी फागुन २० गते सकिँदैछ। ६ वर्षे कार्यकाल सकिएर रिक्त हुन लागेका राष्ट्रियसभाका २० सिटमा निर्वाचन हुन लागेको हो।

आयोगका अनुसार आज मनोनयन दर्ता हुने उम्मेदवारीविरुद्ध पुस २४ गते दाबी, विरोध तथा उजुरी गर्न सकिने छ। पुस २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ। सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।

फागुन २० गते  २० जना राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले १९ वटा पदका लागि सरकारले माघ ११ गते निर्वाचनको मिति घोषणा गरिसकेको छ ।

जसमध्ये एक १ रिक्त पद भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन् ।