चितवनमा बोराभित्र भेटिएको २ वटा शवको सनाखत

चितवनमा बोराभित्र भेटिएको २ वटा शवको सनाखत


चितवन ।

चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ ।

मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो ।

मृतक दुवै जना भारतीय हुन् ।

चितवनभन्दा बाहिर हत्यापछि भरतपुरमा ल्याएर शव फालेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो ।

यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुबै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।

हत्यामा संलग्न आरोपीबारे केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अनुसन्धान गरिरहेको छ ।