मानव अधिकार आयोग अगाडि प्रदर्शन : ३ जना पक्राउ

मानव अधिकार आयोग अगाडि प्रदर्शन : ३ जना पक्राउ


काठमाडौं

ललितपुरमा रहेको राष्ट्रिय मानव अधिकार आयोग अगाडि प्रदर्शन गर्न पुगेका आरती साहको परिवारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

न्याय माग्दै काठमाडौंमा बसिरहेका साहका परिवार र समर्थक तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

प्रदर्शन गर्न पुगेकाहरू ध्यानाकर्षण पत्र बुझाउन आयोग पुगेका थिए। आरतीका दाजु प्रेम साह, अभियन्ता जस्मिन ओझा र रविना श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनको क्रममा ओझा बेहोस भएकी हुन्।

उनलाई अल्का अस्पतालमा लगिएको छ। अन्य दुई जनालाई परिसर ल्याइएको प्रहरीले जनाएको छ।

आरती जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका-९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्।

आरती साहको श्रीमान मोतीबाबु साह प्रहरी नियन्त्रणमा छन्। गत मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई पुन: पक्राउ गरिएको हो।