काठमाडौं ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज तीन प्रदेशमा हल्का वर्षा हुने पूर्वानुमान गरेको छ।
महाशाखाले दैनिक मौसम बुलेटिनमार्फत आज दिउँसो र राति कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा आज हल्का वर्षा हुने पूर्वानुमान गरेको हो।
पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालमा बंगलादेशको दक्षिण भू-भाग आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभावले अहिले देशको पहाडी भू-भागमा आंशिक बदली र तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
आज रातिको मौसम पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
प्रतिक्रिया