भैरहवामा भोलिदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन

भैरहवामा भोलिदेखि राष्ट्रिय महिला उद्यमी सम्मेलन


रुपन्देही ।

नेपाल उद्योग वाणिज्य महासंघले फागुन ४ र ५ गते रुपन्देहीको भैरहवामा ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ आयोजना गर्ने भएको छ ।

सम्मेलनमा ७७ वटै जिल्लाका करिब २५० देखि ३ सय जना महिला उद्यमीहरूको सहभागिता रहने उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवम् सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको शर्माले जानकारी दिए ।

महिला उद्यमीहरूको विकास, विस्तार एवम् प्रवर्द्वनका साथै महिला सशक्तीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको बुधवार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने सम्मेलनमा संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय, प्रदेशस्तरीय, स्थानीय प्रतिनिधिहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू एवम् सम्बन्धित विज्ञको उपस्थिति रहने उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले बताइन् ।

‘नेपालको जनसंख्याको करिब आधा शक्ति रहेका महिलाहरूको अर्थतन्त्रमा योगदान अनौपचारिक माध्यमबाट बढी रहँदारहँदै पनि ग्रामीण वा औपचारिक अर्थतन्त्रमा विद्यमान रहेको न्यून प्रतिशतको हिस्सालाई महिला उद्यमीको रूपमा प्रोत्साहन गरी व्यापक रूपमा महिलाहरूले अर्थतन्त्रमा पनि योगदान पुर्‍याउन यो राष्ट्रिय महिला उद्यमी सम्मेलनले महत्त्वपूर्ण योगदान हुने भन्ने विश्वास लिएका छौँ’श्रेष्ठले भनिन् ।

यो सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौती, युवा महिला/स्टार्टअपका लागि गरिएका पहल र भएका व्यवस्था लगायतका पाँच विषयमा विज्ञहरूसँग छुट्टाछुट्टै छलफल हुने उनले जानकारी दिइन् ।

सम्मेलनलाई सफल पार्न लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका, लुम्बिनी प्रदेशका स्थानीय तहहरु, आईएमई ग्रुप, लक्ष्मी ग्रुप, हेरिटेज फ्लोर एण्ड कार्पेट प्रालि, मेरिगोल्ड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, मेटलाइफ इन्स्योरेन्स कम्पनी र बोटलर्स नेपाल प्रालिको प्रायोजन रहेको आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार सम्मेलन अवधिमा सातै प्रदेशका महिला उद्यमीहरूको उत्पादनको प्रदर्शनीसहित प्रायोजकहरू गरी १० वटा स्टल रहनेछ ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले दुई दिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा प्रस्तुत गरिने बताए ।