काठमाडाैँ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखाभित्र रहेका नागरिकलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा मात्र भएको बताएका छन् ।
शुक्रबार बृहत हत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० लाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले भने, ‘गरीबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु ।’
निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनको भनाइ छ ।
काभ्रे जिल्ला कृषि, पशुजन्य र बजारमुखी उत्पादनको दृष्टिले महत्वपूर्ण क्षेत्र हो भन्दै राष्ट्रपति पौडेलले कृषि उद्यमीहरू कृषि कर्मबाट अन्य पेशा, व्यवसायतर्फ आकर्षित भइरहेको सन्दर्भमा यस क्षेत्रका उद्यमीहरूमा कृषि कार्यप्रतिको आकर्षण, रोजगारी र आयआर्जनसहितको आत्मनिर्भरता बढाउने गरी कृषिजन्य व्यवसायको व्यापकता अभिवृद्धिमा महोत्सवले महत्वपूर्ण योगदान दिने विश्वास उनले व्यक्त गरे ।
प्रतिक्रिया