खोटाङ ।
जिल्ला अस्पताल खोटाङमा ५० शय्याको पक्की भवन निर्माणको काम गत पुसदेखि ठप्प छ।
२२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँ लागतमा भवन बनाउन निर्माण कम्पनीले जिम्मा लिएको थियो।
संघीय सरकारको नीति तथा कार्यक्रमअनुसार ५० शय्यमा स्तरोन्नति गर्नेगरी निर्माणको काम सुरु गरिएको जिल्ला अस्पतालको भवन निर्माण गत पुसबाटै रोकिएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले जानकारी दिए।
‘म कार्यालय प्रमुखको रुपमा गत पुस ४ गते खोटाङको आएको हुँ। म आउनुभन्दा अगाडिबाटै अस्पताल भवन निर्माणको काम रोकिएको रहेछ। भुक्तानी नभएर हो वा अन्य कुनै कारणले हो। गत पुसदेखि अहिलेसम्म निर्माण सम्बन्धीका सम्पूर्ण काम ठप्प छ,’ उनले भने, ‘निर्माणधीन अस्पतालको पक्की भवन समयमा सम्पन्न नहुँदा ट्रस भवनको साँघुरो कोठामार्फत अस्पतालको सम्पूर्ण सेवा प्रवाह गरिरहेका छौं। यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ।’
विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न विसं २०७८ असार २४ गते निर्माण कम्पनीले सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो। ठेकेदार कम्पनीले ३० महिनाभित्र सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी सम्झौता गरिएको अस्पताल भवन निर्माणको म्याद गत पुस २४ गते नै सकिएको हो।
निर्माणाधीन अस्पताल भवन आयोजना सम्पन्न गर्नका लागि सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाले पुनः १५ महिनाको म्याद थपेको बताइएको छ। लम्बाइ ४० मिटर र चौडाइ २० दशमलव पाँच मिटर भएको चारतले सुविधायुक्त अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेपछि रोकिएको हो।
रोकिएको कामलाई निरन्तरता दिन पटक–पटक फोन गर्दा ठेकेदार कम्पनीका प्रतिनिधि बाबुराम कटवालको मोबाइल नै अफ हुने गरेको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताएका छन्।
‘ठेकेदारलाई धेरैचोटी फोन गरिसकेँ। निर्माणस्थलमा खटिएका ठेकेदार सम्पर्कविहीन छन्। सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गाका इन्जिनियरले मङ्गलबार एकजना प्रतिनिधिलाई सम्पर्कमा ल्याएका छन्। सम्पर्कमा आएका ती प्रतिनिधिले अब चाँडै रोकिएको काम पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन्,’ उनले भने।
राईका अनुसार प्राविधिक कारणले भुक्तानी रोकिएका कारण बीचमा काम रोक्नुपरेको बताएका छन्। तोकिएको समयमा गुणस्तरीय काम गर्न निर्देशन दिएको दुई–चार दिनभित्रै काम सुरु गर्छौँ भनेका छन्। ‘त्यसपछि पनि ठेकेदारले काम सुरु नगरेको खण्डमा कानुनी प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने।
स्थापना भएको २९ वर्षसम्म १५ शय्यामा सञ्चालन हुँदै अस्पतालमा सञ्चालित बिरामी भर्ना कक्ष, सुत्केरी गराउने कक्ष, शल्यक्रिया कक्ष, आकस्मिक कक्षलगायतका सेवा सञ्चालित भवनलाई भत्काएर नयाँ भवन निर्माणको काम थालिएको थियो। स्थापना भएको लामो समयसम्म पुरानो संरचनाका अस्पताल भवनमार्फत स्वास्थ्य सेवा लिँदै आएका जिल्लावासी ढिलै भए पनि सुविधायुक्त पक्की भवनमा ५० शय्याको अस्पतालमा स्तरोन्नति हुने भएपछि हर्षित भएका थिए।
पुरानो संरचनाका अस्पताल भवन भत्काइएपछि सोही ठाउँको माथिल्लो तलामा ट्रस भवन निर्माण गरेर अस्पतालको नियमित सेवा सञ्चालन गरिएको छ। साँघुरो तथा एउटै ट्रस भवनमा बसेर अस्पतालको सम्पूर्ण काम गर्नुपर्दा समस्या हुने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन्।
अस्पतालमा शय्या अभाव हुँदा बिरामीको चाप बढेको समयमा भुइँमा राखेरसमेत उपचार गर्ने गरिएको प्रमुख डा सङ्ग्रौलाले बताए।
‘एक महिनामा १०–१५ जना महिलालाई शल्यक्रियामार्फत प्रसूति गराउँदै आएका छौँ। शल्यक्रिया कक्ष साँधुरो छ। शल्यक्रियाका लागि आवश्यक जनशक्ति अटाउने स्थिति छैन,’ उनले भने, ‘ट्रस भवनमा सञ्चालित अस्पतालमा शय्या अभाव भएकै कारण कतिपय समयमा अस्पताल भर्ना भएका बिरामीलाई नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचारमा आउन लगाउने गरेका छौँ। यस विषयमा सम्बन्धित पक्षले ध्यान दिन जरुरी छ। ताकि आगामी दिनमा यस्तो समस्या भोग्न नपरोस्।’
ठेकेदार कम्पनीमार्फत निर्माण गरिएको ट्रस भवनमा सञ्चालित अस्पतालमा चिकित्सकलाई बिरामीको उपचार गर्न आवश्यक औजार तथा स्वास्थ्य सामग्रीसमेत अभाव हुने गरेको छ। अस्पताल भर्ना भएका बिरामीको उपचारमा आवश्यक औजार अभावकै कारण पनि अधिकांश बिरामीलाई बाहिर सिफारिस गर्नुपर्ने बाध्यता रहेको चिकित्सकले बताउँदै आएका छन्।
निर्माणाधीन भवनको पहिलो तलामा ओपिडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी, सेक्युरिटी रुमलगायतका संरचना निर्माण गरिने जनाइएको छ। दोस्रो तलामा प्रसूतिसम्बन्धी सेवा तथा पसूतिसम्बन्धी शल्यक्रिया, तेस्रो तलामा आइसीयू कक्ष, आइसोलेसन कक्ष, क्याविन तथा चौथो तलामा प्रशासन, लेखा, सेमिनार हललगायतका संरचना रहने सम्झौतामा उल्लेख छ।
दस स्थानीय तह रहेको जिल्लामा दुईवटा प्राथमिक स्वास्थ्य केन्द्र तथा तीनवटा सामुदायिक अस्पताल सञ्चालनमा रहेका छन्। जिल्लामा सञ्चालित सामुदायिक अस्पतालको सेवासमेत भरपर्दो नहुँदा सामान्य किसिमका बिरामीलाई पनि थप उपचारका लागि राजधानी काठमाडौँलगायतका सुविधायुक्त अस्पताल लैजानुपर्ने बाध्यता छ।
प्रतिक्रिया