महरालाई सुन तस्करको मतियारका रूपमा मुद्दा चलाइने प्रहरीको निर्णय

महरालाई सुन तस्करको मतियारका रूपमा मुद्दा चलाइने प्रहरीको निर्णय


काठमाडौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बुधबार बयान सुरु गर्ने भएको छ। विद्युतीय चुरोट (भेप)मा लुकाएर ९ किलो सुन तस्करी प्रकरणमा पहिले उन्मुक्ति दिएको सीआईबीले सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनपछि पुनः अनुसन्धान गरेर पूरक अभियोग दर्ता गर्ने भएको छ। सीआईबीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार जिल्ला अदालत, काठमाडौंले पहिलोपटक चार दिनको म्याद दिएको छ। महरामाथि सुन तस्करलाई सहयोग गरेको अर्थात् मतियारको आरोपमा अनुसन्धान हुने भएको छ। सोमबार अदालतको अनुमति लिँदा नै प्रहरीले महरा संगठित रूपमा सुन तस्करी कसुर गर्न चिनियाँ मूलका दावाजिन वाङ समेतलाई सहयोग गरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र दफा ४ बमोजिम मतियारको कसुरदारको रूपमा भूमिका निर्वाह गरेको आधार प्रस्तुत गरेको छ।मतियारको कसुरमा मुख्य कसुरदारको भन्दा आधा सजाय हुने कानुनी व्यवस्था छ।

सीआईबीले अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न सरकारी वकिल कार्यालयमार्फत म्याद माग गरेको थियो। तर विभिन्न रोग लागेको र आफू अस्वस्थ रहेको बताएका महराको स्वास्थ्य उपचारको व्यवस्था गर्न पनि अदालतले निर्देशन दिएको छ। अदालतको निर्देशनपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ। मंगलबार दिनभर उनलाई अस्पतालमै राखिएको सीआईबी स्रोतले जानकारी दिएको छ। बुधबारदेखि महराको विषयमा जाँचबुझ आयोगको प्रतिवेदनलाई आधार बनाएर अनुसन्धान अगाडि बढाउने भएको छ।