गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्न सरकार डरायो : सांसद खतिवडा

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्न सरकार डरायो : सांसद खतिवडा


काठमाडौ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्न सरकार डराएको बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको बताए । सांसद खतिवडाले भने, ‘सरकारले न्यूनतम साझा कार्यक्रम सुनियो । विभिन्न आयोग गठन गर्छु भन्ने पनि त्यहाँ उल्लेख गरिएको पाइयो ।

सहकारी ठगीको एउटा संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँडने सरकारले कस्तो आयोग गठन गर्ला रु अचम्मको विषय पर्‍यो सभामुख । जनतालाई ढाँट्ने काम नहोस् ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार हरेक क्षेत्रमा विफल हुने दावी गरे । उनले भने, ‘केही दिनअघि प्रधानमन्त्री ज्यूले मैले संसदमा बोलेको सुने । सरकारको गियर परिवर्तन गर्नुपर्‍यो भन्नु भयो ।

एक्सिलेटर नै बिग्रिएको र इन्जिन नै काम नलाग्ने सरकारको गियर परिवर्तनले केही काम लाग्दैन भन्ने आभाष हामीलाई लागेको छ ।’ नेता खतिवडाले सबै स्थानीय तहका अस्पताल निर्माणका लागि रकम अभाव भएको भन्दै तुरुन्त रकम पठाउने व्यवस्था गर्न सरकारसँग माग गरे ।