उखु पकेट क्षेत्र ढोडबेँसी र मालेपाटन : वर्षमा २ कराेडकाे त खुदाेमात्रै बिक्छ

उखु पकेट क्षेत्र ढोडबेँसी र मालेपाटन : वर्षमा २ कराेडकाे त खुदाेमात्रै बिक्छ


पोखरा ।

पोखरा–३२ मालेपाटन निवासी ७५ वर्षीय लालकान्त अधिकारीले उखु खेती गर्न थालेको ५० वर्ष पुगिसक्यो, बाबुबाजेका पालादेखि अँगाल्दै आएको उखु खेती उमेरले नेटो काटिसक्दा पनि उनले छाड्न सकेका छैनन् ।

‘४ छोरा, बुहारी र नातिनातिनी छन् तर उनीहरू उखु खेती गर्दैनन् । उखु खेती गर्न दुःख छ । दुईपटक त गोडमेल नै गर्नुपर्छ, रोगका किराबाट जोगाउनुपर्छ । उत्पादन हुन कम्तीमा १० महिना कुर्नुपर्छ, तर आम्दानी भने धानभन्दा दोब्बर हुन्छ, कृषक अधिकारीले भने, ‘अघिल्लो वर्ष चार रोपनीमा लगाएको उखु र खुदो बिक्रीबाट रु साढे दुई लाख आम्दानी गरेँ ।’

‘पुरानो जमाना त्यतिबेला पैसा देख्न पाइँदैन्थ्यो, खेतमा सिँचाइ पनि थिएन । पुर्खाहरूले धानको विकल्पमा उखु खेती गर्दै आएका रहेछन्, वर्षभरि उखु खेती गरी उत्पादन गरेको खुदो बिक्रीबाट छोराछोरीको शिक्षादीक्षा, पालनपोषण र वर्षभरि लागेको ऋण तिर्ने गरेको इतिहास पोखरा–३२ को मालेपाटन र ढोडबेँसीले बोकेका छन्’, अधिकारीले भने, ‘युवा पुस्ता उखु खेतीभन्दा पनि विदेश जान रुचाउने गर्छन् ।’

ढोडबेँसी र मालेपाटनमा उत्पादित खुदो पोखरा बजारमा प्रख्यात छ । पुस १५ र माघे सङ्क्रान्तिमा घरबाट खुदो खोसाखोस हुने गरेको उखु किसान यज्ञप्रसाद अधिकारीको भनाइ थियो ।

विगतका दिनहरूमा खुदो बिक्रीका लागि गाग्री र टिनमा बोकेर पोखरा बजार जानुपर्थ्याे तर १५ वर्षयता गाउँबाट नै बिक्री हुने गरेको छ । बाँकी रहेको खुँदो स्थानीय मालेपाटन कृषि सहकारी संस्थाले प्रशोधन गरी बिक्रीका लागि बजारमा लाने गरेको छ ।

यतिबेला ढोडबेँसीमा ३०० र मालेपाटनमा १०० रोपनी जमिनमा उखु खेती गरिँदै आएको छ । उखु खेती प्रतिवर्ष घट्दो क्रममा छ । यहाँका ७० भन्दा बढी किसान व्यावसायिक उखु खेतीमा लागेका छन् ।

पोखरा महानगरपालिकाको यस वर्ष एक वडा एक पकेट क्षेत्र कार्यक्रमअन्तर्गत पोखरा–३२ को ढोडबेँसी र मालेपाटनलाई उखु पकेट क्षेत्र घोषणा गरी कृषि अनुदान सहयोग सुरु गरेको छ । ४०० रोपनी जमिनमा लगाइएको उखुबाट वार्षिक २ करोड रुपैयाँको खुदो उत्पादन हुने गरेको किसान पद्मराज तिवारीले सुनाए ।

उखु खेतीसँगै उनीहरूले पशुपालनसमेत अगाडि बढाएका छन् । कास्कीमा व्यावसायिक रूपमा उखु खेती गरिने एकमात्र ठाउँ भनेकै ढोडबेँसी र मालेपाटनलाई मानिँदै आइएको छ । स्थानीय किसान मोहन धमालाले भने, ‘चैत, वैशाखदेखि उखु खेतीको तयारी सुरु गरी पुसमाघसम्म बाली भित्र्याउँछौ ।’

उखुलाई अन्य बालीमा जस्तो पर्याप्त सिँचाइको आवश्यकता पर्दैन । खेतीयोग्य फाँट भए पनि ढोडबेँसीमा सिँचाइ सुविधा छैन । तराईमा उखुबाट चिनी वा सक्खर बनाइन्छ । पहाडमा भने उखुबाट खुदो नै बनाइन्छ । उखुका लाँक्रा पनि बिक्छन् । पहाडमा चाम्रे बनाउँदा पनि खुँदो हाल्ने चलन छ । कोदाको ढिँडोलाई खुँदोमा डुबाएर खाने पनि गरिन्छ ।

उखुको पकेट क्षेत्र घोषणा गर्दै पोखरा महानगरपालिकाले उखु किसानलाई प्रोत्साहन, रोग तथा किरा नियन्त्रण र प्याकेजिङका लागि गत सोमबार १० लाख २० हजार रुपैयाँ प्रदान गरेको थियो ।

महानगरपालिकाको कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनोहर कडरियाले उनीहरूलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनले उखुसँगै कागती उत्पादनमा पनि उपयुक्त जमिन रहेको जानकारी दिँदै कागती खेतीमा समेत लाग्न किसानलाई सुझाव दिए ।

‘उखुको पात र बारीमा उम्रिएका घाँस तह लगाउन पनि गाईभैँसी पाल्नुपर्ने रहेछ, स्थानीय कृषक लीलादेवी धमलाले भने, ‘उखुबारी भित्रै पनि घाँस खेती गर्न सकिने भएकाले उखु र पशुपालन एकअर्काका सहायक भएका हुन् ।’

बाँदर, दुम्सीलगायत जंगली जनाबरबाट उखुखेती जोगाउनुपर्ने भएकाले किसानलाई हैरानी भएको कृषक धमलाले सुनाए । यहाँका किसानले बाँसकडा, जितपुर, ग्यामरालगायत स्थानमा उखु उत्पादन गर्दै आएका छन् । पोखरा–३२ का वडासदस्य तीर्थराज ओझाले पकेट क्षेत्र घोषणासँगै रोजगारीका लागि विदेश पुगेका युवालाई पनि उखुखेतीतर्फ आकर्षण गर्नुपर्नेमा जोड दिए ।