बनाएका भाँडा झरीका कारण सुकाउन नपाउँदा पीडामा कुमाले समुदाय

बनाएका भाँडा झरीका कारण सुकाउन नपाउँदा पीडामा कुमाले समुदाय


भक्तपुर ।

केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् ।

माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टीमा पोल्ने भए पनि झरीका कारण दाउराको जोहो गर्न नपाउँदा भाँडा सुकाउन कुमाले मौसम कुरेर बसेका छन् ।

भक्तपुर नगरपालिकाको सुजमारी, तालाक्व, चुनदेवी, लिवाली, चोखाते र सूर्यविनायकका कुमाले समुदायले व्यावसायिक रुपमा माटाका भाँडा बनाउने गर्छन् ।

लगतार झरीले अहिले कुमाले समुदायले नजिकिँदै गरेको श्रावणी मेलाका लागि पाला, धुपौरोलगायत वर्षदिनमा मनाइने विभिन्न चाडपर्वलाई लक्षित गरी निर्माण गरेका सामग्री तथा खुत्रुके, गमला, करुवा, मट्का, भ्योग, पर्यटकिय सामग्री, सुकाउन पाएका छैनन् । उनीहरू लगातार झरी पर्दा बाहिर काम गर्न र सुकाउन नमिलेपछि भित्रै काम गरी सुकाउन बाध्य छन् ।

भक्तपुर–४ तालाक्वका रमेश प्रजापतिले झरीले घरबाहिर काम गर्न र सुकाउन नमिल्ने भएपछि घरमै भाँडा बनाएर भित्रै सुकाएको बताए । उनले भने, ‘मौसम खुल्यो भने सुकाउने र पोल्ने काम हुन्छ । झरीले गर्दा सुकाउन मिलेन, अलि अलि बनाएर छिँडीमै फैलाइदिएँ  । अहिले पाला, गमला, धुपौरो, चिया कप र पर्यटकीय सामग्रीको माग घेरै छ । बनाएर सुकाउन नमिल्ने समय छ, त्यही भएर अहिले कम मात्र बनाएका छौँ ।’

नजिकिँदै आएको श्रावणी मेलाका लागि भाँडा बनाउन भ्याइनभ्याइ हुने समयमा झरीले भाँडा सुकाउन नपाउँदा अहिले कुमाले समुदाय चिन्तित छ । भक्तपुर–९ सुजमारीका श्यामकृष्ण प्रजापति भाँडा सुकाउन नपाएर कामै बन्द गरी बसेका छन् । उनी जुजुधौका लागि मट्का र भ्योग बनाउने काम गर्छन् ।

लगातर झरीले बनाएका भाँडा नै सुकाउन नपाएर पोल्ने कामै ठप्प भएको उनले बताए । भक्तपुर नगरका कुमाले समुदायको पुख्यौली पेसन नै माटाका भाँडा बनाउने हो । झरीका बेला बनाएका भाँडा समयमै सुकाएर पोल्न नपाएर बिग्रिने हुँदा पेसा नै विस्थापित हाेला कि भन्ने डर कुमाले समुदायमा छ ।