क्षमता ढाँटेर भन्सार पास भएका विद्युतीय गाडीले तिर्नुपर्ने भयो छलेकाे महसुल

क्षमता ढाँटेर भन्सार पास भएका विद्युतीय गाडीले तिर्नुपर्ने भयो छलेकाे महसुल


काठमाडौं । नेपालमा विद्युतीय गाडी आयात गर्ने कम्पनीहरुले किलोवाटलाई कम देखाएको उजुरी परेपछि भन्सार विभागले अध्ययन थालेको थियो । अहिले भन्सार विभागले गाडी आयात हुने भन्सार नाकाहरुलाई परिपत्र गरेर विद्युतीय गाडीको क्षमता कम देखाएर आयात भएका गाडीहरुको भन्सार महसुल पुनः उठाउन भनेको छ ।

विद्युतीय गाडी आयात गर्ने कम्पनीहरुले नेपालमा १०० भन्दा माथि क्षमता भएका गाडीको १ सयभन्दा कम क्षमता देखाएर आयात गरेका थिए । विश्वका अन्य देशमा १०० किलोवाटभन्दा धेरै क्षमता भएका र उही मोडलको गाडी नेपालमा भने १०० किलोवाटभन्दा थोरै क्षमता भनेर व्यापारीले ल्याएका थिए ।अहिले भन्सार विभागले आयात भइसकेको विद्युतीय गाडीले समेत क्षमताअनुसार भन्सार शुल्क असुली गर्न भनेको छ ।

भन्सार जाँचपास परीक्षण कार्यालयको च.नं. ३३७ मिति २०८१/०१/०५, तातोपानी भन्सार कार्यालयको च.नं. ६६३ मिति २०८१/०१/२४ तथा रसुवा भन्सार कार्यालयको च.नं. १००६ मिति २०८०/१२/०९ को पत्रको सन्दर्भमा भन्सार विभागले गाडी पास हुने नाकाहरुलाई पत्र लेखेको बताएको छ ।

भन्सार जाँचपास परीक्षण कार्यालयले पैठारीकर्ताहरुको जाँचपासपछिको परीक्षणको लागि भन्सार जाँचपास परीक्षण कार्यविधि २०७८ को दफा ६ (४) तथा दफा ६ (७) बमोजिम छनोट भई जाँचपासपछिको परीक्षण गर्ने व्यहोरा पत्रमा खुलाएको छ ।

भन्सार शीर्षक ८७०२, ८७०३, ८७०४ अन्तर्गत पर्ने विद्युतीय सवारीसाधनहरुको जाँचपास गर्दा मोटरको पिकपावर क्षमताका सम्बन्धमा उत्पादक कम्पनीको आधिकारिक वेबसाइटमा उल्लिखित मोटरको क्षमता/पिकपावर समेतका कागजातहरु अनिवार्य रुपमा जाँच गर्न विभागले गाडी आउने नाकाहरुलाई पत्र लेखेको छ ।

‘आर्थिक ऐन २०८० बमोजिमको महसुल असुल गरी यसअघि महसुल छुट भएको भए सोसमेत असुल गरी उच्च सतर्कताका साथ जाँचपास गराउन निर्देशन गरेको छु’, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले लेखेको पत्रमा उल्लेख छ ।

महानिर्देशक निरौलाले पत्रमा उल्लेखित व्यहोरा अनिवार्य कार्यान्वयन गर्न निर्देशन पनि दिएका छन् ।

भन्सार विभागले भन्सार छली भएको विषयमा अध्ययन गर्न २ वटा समिति पनि बनाएको छ । निकासीकर्ता वा पैठारीकर्ताहरु, फर्महरु वा मालवस्तुहरु वा प्रज्ञापनपत्रहरु छनोट गर्न तथा छनोटको लागि नीतिगत परामर्श दिन विभागमा एउटा समिति बनाइएको हो ।

सो समितिमा संयोजक भन्सार विभागका उपमहानिर्देशक (सुधार तथा व्यवस्थापन महाशाखा)का सहिसचिव रहेका छ । सदस्यहरुमा प्रमुख भन्सार परीक्षण प्रशासक, भन्सार जाँचपास परीक्षण कार्यालय, मूल्यांकन शाखाका निर्देशक र सदस्य सचिवका रुपमा विभागको मूल्यांकन शाखा अधिकृत रहनेछ ।

सो समितिले कुन कुन विद्युतीय गााडी आयात गर्ने कम्पनीले कति कर छली गरे भनेर प्रज्ञापनपत्रको अध्ययनलगातका काम गर्नेछ ।

अर्काे समिति गाडी जाँचपास भएको कार्यालयमा परीक्षण गर्न बनाइएको छ । ३ सदस्यीय उक्त समितिमा प्रमुख भन्सार परीक्षण प्रशासक संयोजक, संयोजकले तोकेको भन्सार परीक्षक सदस्य र संयोजकले तोकेको प्रमुख भन्सार परीक्षक सदस्य सचिव रहनेछन् ।

नेपालमा किलोवाटअनुसार विद्युतीय गाडीको भन्सारदर फरक फरक छ । कम किलोवाटको कम र धेरै किलोवाटको बढी भन्सार शुल्क लाग्ने व्यवस्था छ । त्यसैले कम भन्सार शुल्क तिर्न कम किलोवाटको काजगपत्र देखाएर गाडी आयात भइरहेको बताइन्छ ।

पहिले १५० किलोवाट भनेर आयात भएको एउटा कम्पनीको विद्युतीय गाडी पछिल्लो समय १०० किलोवाटभन्दा कम क्षमताको देखाएर आयात भइरहेको भन्सार विभागका कर्मचारीहर नै बताउछन् । कर थोरै तिर्न नेपालमा प्रायः सबै विद्युतीय गाडी आयात गर्ने कम्पनीहरुले किलोवाट घटाइरहेको उजुरी भन्सार विभागमा परेको छ ।

भन्सार विभागका अनुसार १०० किलोवाटभन्दा कम र त्यसभन्दा बढी क्षमताको गाडीमा २५ प्रतिशतसम्म कर फरक पर्ने व्यवस्था छ । त्यसैले धेरै किलोवाटको गाडीको पनि १०० किलोवाटभन्दा कम देखाएर भन्सार जाँचपास भइरहेको भन्सार विभाग नै स्वीकार गर्छ ।

भन्सार विभागका महानिर्देशक निरौलाले विद्युतीय गाडीको किलोवाट क्षमताको विषयमा अध्ययन गरेर नै गाडी पास हुने नाकाहरुलाई परिपत्र गरिएको बताए ।

उनले भने, ‘विद्युतीय गाडीको किलोवाटको विषयमा अध्ययन भइरहेको छ । आर्थिक ऐन २०८० बमोजिमको महसुल असुल गरी यसअघि महसुल छुट भएको भए सो समेत असुल गरी उच्च सतर्कताका साथ जाँचपास गराउन निर्देशन भएको छ ।’

नेपालमा कसरी परीक्षण गरिन्छ विद्युतीय गाडीको किलोवाट ?

सवारी परीक्षण कार्यालय टेकुका प्रमुख मणिराम भुसाल विद्युतीय गाडीको मोटर क्षमता नाप्ने २ वटा विधि रहेको बताउँछन् । चेसिस डाइनामो मिटर र इन्जिन डाइनामो मिटरबाट विद्युतीय गाडीको क्षमता मापन गर्न सकिन्छ ।

सवारी परीक्षण कार्यालय टेकुसँग चेसिस डाइनामो मिटरमात्रै छ । चेसिस डाइनामो मिटरले गाडीको टायर घुमेको आधारमा मात्रै क्षमता मापन गर्छ । अहिले नेपालमा टायरबाट मात्रै गाडीको क्षमता चेक भइरहेको छ । यसरी टायरबाट मात्रै गाडीको क्षमता चेक गर्दा यथार्थ क्षमता नदेखाउने भुसाल बताउँछन् ।

विद्युतीय गाडीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) प्रणाली जडान गरिएको हुन्छ । यो प्रणालीले गाडीको ब्याट्री तथा मोटरलाई कम पावर जेनेरेट गर्न निर्देशन दिन पनि सक्छ । यसो गर्दा सजिलै क्षमता कम देखाउने बताइन्छ । बीएमएसमा सेट गरेअनुसार नै गाडीको किलोवाट क्षमता देखाइने हुन्छ ।

इन्जिन डाइनामो मिटरले विद्युतीय गाडीको यथार्थ क्षमता चेक गर्न सकिन्छ । यो प्रविधिबाट क्षमता चेक गर्न ब्याट्री र मोटरलाई छुट्याउनुपर्छ । यो प्रविधि जडान गर्न करिब ६ करोड पर्ने बताइन्छ । अहिलेसम्म भन्सार कार्यालयले आयातकर्ताले स्वघोषणा गरेअनुसार नै गाडीको क्षमता तोक्दै आएको छ ।

गाडीको किलोवाट कम गरेर भन्सार जाँचपास गराउने ओमोडा, एमजी र डीपललगायतका ब्राण्डका गाडीहरुमाथि अध्ययन भइरहेको भन्सार विभागले बताएको छ । विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको १० महिनामा कुल ८ हजार ४९७ विद्युतीय कार, भ्यान र जीप आयात भएका छन् ।