११ घण्टा लगाएर कालीखोलाको पहिरो हटाएपछि दुईतर्फी सडक खुल्‍यो

११ घण्टा लगाएर कालीखोलाको पहिरो हटाएपछि दुईतर्फी सडक खुल्‍यो


काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत कालीखोला क्षेत्रको सडकमा खसेको पहिरो हटाएर दुईतर्फी यातायात सञ्‍चालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालका अनुसार अवरूद्ध सडकको पहिरो पन्छाएपछि दुईतर्फी नै यातायात खुलेको हो । यसअघि कालीखोलामा माथिबाट ठूलो पहिरो झरेपछि पन्छाउन करिब ११ घण्टा समय लागेको डीएसपी रिजालले बताए ।

उनले भने, ‘रातिदेखिको पहिरो ठूलो एक्साभेटरको सहायताले करिब ११ घण्टा लगाएर हटाएका छौं। कालीखोला क्षेत्र सडकमा अहिले दुईतर्फी नै यातायात आगवागमन खुलेको छ ।’

यसअघि चितवनको सिमतालमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक खुलाइएको छ । चितवनको भरतपुर महानगरपालिका-२९ मा पर्ने यही सडकमा शुक्रबार बिहान साढे ३ बजेको समयमा पहिरो खसेको थियो । पहिरोले २ वटा गाडी बगाउँदा २ यात्रुसहित २ वटा गाडी बेपत्ता भएका छन् भने सडक पनि अवरुद्ध भएको थियो ।

यस्तै मुग्लिनबाट काठमाण्डौं सडकखण्डको मौवाखोलामा सडक एकतर्फी खुलाइएको छ । अन्यत्र भने त्यति ठूलो डिस्टर्व नरहेको डीएसपी रिजालले अनलाइनखबरलाई जानकारी दिए । रातिदेखि विभिन्न ठाउँमा आएको पहिरोले सडक अवरुद्ध हुँदा सडकहरुमा यात्रुवाहक तथा मालबाहक सवारीको लामो जाम लागेका छन् ।