काठमाडौ । सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलन मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष९आईसीयू० बाट सामान्य वार्डमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा डा मीना थापाले जानकारी दिइन् ।
अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो । बिहीबार साँझ भने उनलाई क्याबिनमा सारिएको छ । क्याप्टेन शाक्यको अवस्था खतरामुक्त र सुधारोन्मुख रहेको अस्पतालले बताएको छ । अस्पताल निर्देशक प्रा डा थापाका अनुसार शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ । ‘उहाँको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको छ, ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन्,’ उनले भनिन्, ‘ढाडको हड्डीको शल्यक्रिया गर्ने वा नगर्ने र गर्ने भए कहिले भन्ने निर्णय भइसकेको छैन ।’
विमानस्थलको कोटेश्वरतर्फ रनवे ०२ बाट उडेको सौर्यको विमान बिहान ११ बजेर ११ मिनेटमा दुर्घटनामा परेको थियो । विमान दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । दुर्घटना भएको २३ मिनेटपछि शाक्यलाई भने उद्धार गरेर अस्पताल पुर्याइएको थियो । उद्धारमा खटिएका प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गर्दा क्याप्टेन शाक्य बोल्न सक्ने अवस्थामै थिए । उनले ‘म ठीक छु, अरूलाई हेर्नू’ भनिरहेका थिए । दुर्घटनालगत्तै उद्धार गरेर क्याप्टेन शाक्यलाई विमानस्थलबाट नजिकै रहेको काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पुर्याइएको थियो ।
प्रतिक्रिया