अन्तरिम सरकार प्रमुखमा नियुक्त युनुस बिहिबार ढाका पुग्ने

अन्तरिम सरकार प्रमुखमा नियुक्त युनुस बिहिबार ढाका पुग्ने


ढाका– बंगलादेशका नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुस बिहीबार स्वदेश फर्किने भएका छन् ।

बंगलादेशमा माइक्रोफाइनान्सका संस्थापक मोहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्ने प्रस्तावपछि उनी बिहीबार ढाका फर्कने कार्यक्रम रहेको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल युरोपमा रहेका ८४ वर्षीय युनुस बिहीबार दिउँसो २ः१० बजे राजधानी ढाका आइपुग्ने उनको कार्यालयले जानकारी गराएको हो ।

बंगलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलार्य अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् ।

बंगलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।

राष्ट्रपति मोहम्मद शाहाबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो ।