काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सामाजिक कार्य केन्द्रीय विभाग र विभिन्न गैरसरकारी संस्थाबीच पारिश्रमिकमा इन्टर्न गराउने सम्झौता भएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिको समन्वयमा विभाग र विभिन्न ७ गैरसरकारी संस्थाहरुबीच इन्टर्न गराउने सम्झौता भएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताए ।
उनको भनाइ अनुसार क्लाइमेट अलाइन्स अफ हिमालयन कम्युनिटिज, द स्मल वल्र्ड, मुभिङ माउन्टेन्स नेपाल, हिमालयन केयर फाउन्डेसन, हिमालयन चेन रिसोर्ट, माउन्टेन स्पिरिट फाउन्डेसन, एभरेस्ट शेर्पा फाउन्डेसनसँग विभागले ११ जना विद्यार्थीलाई पारिश्रमिकसहितको इन्टर्नप गराउने सम्झौता गरेको हो । उनीहरुले इन्टर्न गर्ने विद्यार्थीलाई न्यूनतम १५ हजार पारिश्रमिक दिने भएका छन् ।
नेविसंघको समन्वयमा यसअघि इन्जिनियरिङ तथा आरडी अध्ययन गरिरहेका विद्यार्थीलाई पनि विभिन्न कम्पनी तथा उद्योगहरुसँग पारिश्रामिक सहितको इन्टर्नसिप गराउने सम्झौता गरेको छ ।
सामाजिक कार्य, कानुन लगायतका विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पारिश्रमिक सहितको इन्टर्नसिप गराउनका लागि विभिन्न संघसंस्था, उद्योगहरुसँग जारी रहेको नेविसंघका अध्यक्ष शेर्पाले जानकारी दिए ।
प्रतिक्रिया