टियुको सुरक्षा थ्रेटबारे जानकारी गराउन सरकारसँग सांसद दाहालको माग

टियुको सुरक्षा थ्रेटबारे जानकारी गराउन सरकारसँग सांसद दाहालको माग


काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले त्रिभुवन विश्वविद्यालय (टियु)का पदाधिकारीले महसुस गरेको भनिएको सुरक्षा थ्रेटबारे जानकारी गराउन सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद दाहालले त्रिभुवन विश्वविद्यालयमा त्यहाँका उपकुलपति, रेक्टर, रजिष्टार लगायत सुरक्षाको कारण कैयौं दिनदेखि कार्यालयमा उपस्थित नसकेको बताए ।

यो विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले सदनलाई जानकारी गराउनुपर्ने उनको माग छ ।

‘सत्य के हो ? सत्य के हो हामीले थाहा पाउनुपर्छ । त्रिभुवन विश्वविद्यालयमा असुरक्षा हुन्छ भने अन्त सुरक्षा कहाँ दिन सकिन्छ । सरकार छ कि छैन ? सरकार छ भने टियुमा सुरक्षा दिनु पर्यो’ उनले भने ।

समस्याको पहिचान गरेर समाधान दिन सरकारलाई उनको आग्रह छ । ‘समस्या के हो ? राजनीतिक समस्या हो भने वार्ताद्धारा हल गर्नुपर्यो । गुण्डागर्दी हो भने कानुनी प्रक्रियाद्धारा नियन्त्रण गर्नुपर्‍यो’ उनले भने ।