रुपन्देही । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)बसन्त बहादुर कुँवरले १० वर्षसम्म एउटै कार्यालयमा राख्ने प्रवृत्ति हटाउनुपर्ने बताएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको परिसरभित्र नवनिर्मित भवनहरुको उद्घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् ।
उनले भने, ‘यो र त्यो भनेर तपाईहरु राख्नुहुन्छ । त्यो बिना काम गर्न सक्नुहुन्न । थाहा छैन के हो । नयाँ, फ्रेस मान्छेबाट काम गराउनुस् । त्यो सेटिङ भत्कन्छ । मैले कतिपटक भनेको छु–१०–१५ वर्षसम्म एकैठाउँमा बस्ने मान्छे कहिले यो ढोकाबाट त्यो ढोकामा गएको छ, त्यो ढोकाबाट यो ढोकामा गएको छ । यो प्रवृत्ति नष्ट गरौं ।’ प्रहरी कर्मचारी तराईमा र सीमा क्षेत्रमा जान खोज्ने प्रवृत्ति देखिएको तर, जहाँ गए पनि काम एउटै हुँदैन र ? भन्दै उनले प्रश्न गरे ।
समाजमा सुशासन, समृद्धि कायम गर्ने र नागरिकसँग सहकार्य गर्ने प्रहरीको उद्देश्य रहेको उनको भनाइ छ । उनले स्वार्थभन्दा माथि रहेर काम गरे केही समस्या नआउने स्पष्ट पारे ।
उनले स्वार्थ रहे झडप हुने र सामूहिक भावनाको विकास नहुने तर्क गरे । आईजीपी कुँवरले नेपाली उत्पादनलाई प्रोत्साहन गर्दै राजस्व चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपाल प्रहरी आमनागरिकको आशा र भरोसाको केन्द्र हो । प्रहरीभित्र अपवित्र काम गर्ने कसैलाई छुट छैन । सही र गलत कामको प्रहरी संगठन र नागरिक समाजले मूल्यांकन गरिरहन्छ । ’
अपराध रोकथाममा र अनुसन्धान नेपाल प्रहरीको एकल प्रयासले मात्र नहुने भएकाले त्यसमा नागरिकको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुवेर कडायतले भने, ‘जहाँ व्यवस्थित कार्याल्य हुन्छ, त्यहाँ प्रहरीको आत्मबल बढ्छ । अब जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मेवारी थपिएको छ ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले ट्राफिक प्रहरीबाट सहयोग पाउन नसकेको गुनासो गरे । उनले क्षमता भन्दा बढी सामान बोक्ने सवारीसाधनलाई जरिवाना मात्र तिराएर सडकको अवस्था सुधार हुन नसक्ने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रहरी कार्यालयले व्यवस्थित संरचना पाएको बताए । उनले प्रहरी नागरिकको सेवामा अझ दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले सुविधासम्पन्न भवनले प्रहरीको आत्मबल बढाउने विश्वास व्यक्त गरे ।
सिद्धार्थनगर नगरपालिका–१३ (भैरहवामा) १४ करोड ९६ लाख ९४ हजारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवनहरु निर्माण भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय भौतिक पूर्वाधार शाखा प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ई .रोशन सारु मगरले बताए ।
प्रतिक्रिया