लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न आठ जनाले आवेदन दिएका छन्। तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसीईओ सुशील ज्ञवालीसहित ८ जनाले आवेदन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिका अनुसार आठ जनाले आवेदन दिएका छन्।
यसअघि सीईओ सुशील भट्टले आफ्नो चार वर्षको कार्यकाल पूरा गरी साउन २१ मा विदा भएका थिए। सोसँगै गत साउन २८ मा समितिले सार्वजनिक सूचना निकाल्दै सीईओको आवेदन माग गरेको थियो। बिहीबारसम्म आवेदन दिन पाउने समय थियो।
सीईओ बन्न चाहनेको उमेर निवेदन दिने अन्तिम मितिसम्म ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको हुनुपर्ने नियुक्तिसम्बन्धी कार्यविधिमा उल्लेख छ।
सीईओको शैक्षिक योग्यता मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्योगिक क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने यससम्बन्धी कार्यविधिमा उल्लेख छ।
अब आवेदन दिएकाहरुको रणनीति र कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्यांकन गरिनेछ। मूल्यांकनबाट प्राप्त हुने अंकको आधारमा सबैभन्दा बढी अंक पाउने ३ जनालाई सर्टलिस्ट गरी समितिले नियुक्तिका लागि सरकारसमक्ष सिफारिस गर्नेछ। सोसँगै सोही सिफारिसअनुसार सरकारले एक जनालाई बोर्ड सीईओ नियुक्त गर्नेछ।
प्रतिक्रिया