न्यूजिल्याण्डले झण्डै तेब्बर बढायो पर्यटक कर

न्यूजिल्याण्डले झण्डै तेब्बर बढायो पर्यटक कर


काठमाडौं । न्यूजिल्याण्डले पर्यटकबाट लिँदै आएको करबापतको शुल्क बढाएको छ । बेलायती विश्व सेवा बीबीसीका अनुसार न्यूजिल्याण्डले झण्डै तीन गुणा धेरै पर्यटन कर बढाएको छ । जसअनुसार ३५ न्यूजिल्याण्ड डलर कर लिँदै आएकोमा अब बढाएर १०० पुर्‍याइएको छ ।

नयाँ कर नियम अक्टोबर १ बाट लागू हुनेछ । पर्यटन कर बढाइएकोले यसलाई धेरैले पर्यटकहरु बिच्किनसक्ने रुपमा व्याख्या गरेका छन्, तर न्यूजिल्याण्ड सरकारले भने यसलाई आर्थिक वृद्धि गर्ने कामको रुपमा व्याख्या गरेको छ ।

न्यूजिल्याण्डले सबैभन्दा पहिलोपटक पर्यटक करको कुरा सन् २०१९ मा ल्याएको थियो । पाँच वर्षमा त्यो दर झण्डै देब्बर बनाइएको छ । १०० डलर करलाई न्यूजिल्याण्डमा औसत पर्यटकले खर्च गर्ने ३ प्रतिशतभन्दा थोरै रकम भएको भन्दै सरकारले नियमको प्रतिरक्षा गरेको छ ।

न्यूजिल्याण्डमात्रै पर्यटन कर लिने देश भने होइन । इन्डोनेसिया, इटाली, स्पेन, क्रोएसिया, अस्ट्रिया, आइसल्याण्ड, कोस्टा रिका आदि देशहरुले पनि पर्यटन कर लिइरहेका छन् ।