आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउने

आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब उठाउने भएको छ ।

२१ दिने निक्षेप संकलन उपकरणमार्फत सो रकम बैंकिङ प्रणालीबाट उठाउन लागेको हो । यो निक्षेप आज ३ बजेसम्म अनलाइन मार्फत बोलकबोल हुनेछ । यसको सावा ब्याज भुक्तानी असोज ९ गते गर्ने गरी सो रकम केन्द्रीय बैंकले उठाउन लागेको हो ।

घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिने छ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँट गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ केन्द्रीय बैंकले जनाएको छ ।

स्वीकृत भएका बोलपत्र बापतको रकम बैंकले सम्बन्धित काउण्टरपार्टीको केन्द्रीय बैङ्कमा रहेको खाता खर्च गरी लिनेछ र बैङ्कमा संकलित निक्षेपको अलग्गै खाता खोली जम्मा गर्नेछ ।

बैंकिङ प्रणालीमा अधिक रकम थुप्रिएपछि केन्द्रीय बैंकले धमाधम निक्षेप संकलन उपकरण मार्फत तानिरहेको छ ।