३ वर्षपछि मोरङका पत्रकारले पाउने भए कोरोना बीमाको भुक्तानी

३ वर्षपछि मोरङका पत्रकारले पाउने भए कोरोना बीमाको भुक्तानी


काठमाडौं । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन् । कोरोना बीमा बापतको भुक्तानी बाँकी उनीहरूले १/१ लाखका दरले भुक्तानी पाउने भएका हुन् । बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरूको रकम बराबरको चेक नेपाल पत्रकार महासंघ मोरङलाई दिएको छ ।

महासंघका सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानी नदिइएपछि पत्रकार महासंघ मोरङको तर्फबाट सचिव नेत्र पी अधिकारीले २०७८ भदौ २१ गते उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । तत्कालीन समयमा पत्रकार महासंघ मोरङ र अजोड इन्स्योरेन्सबीच द्विपक्षीय सम्झौता भई २ सयभन्दा बढी पत्रकार र उनीहरूका परिवारका सदस्यको कोरोना बीमा गरिएको थियो । बीमा अवधिसम्म संक्रमित भएकामध्ये २० जनाले मात्र बीमा दाबी भुक्तानी पाएका थिए । कागजात पुगेर पनि २९ जनाको भुक्तानी बाँकी थियो ।

०७९ जेठ १६ गते उच्च अदालत विराटनगरका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा परामादेश दिएको थियो ।

अदालतको अवहेलना मुद्दा दर्ताअघि उच्च अदालत विराटनगरले गत वैशाख २५ गते आदेशबमोजिम भुक्तानीका लागि बीमा कम्पनीलाई पत्र पठाएको थियो । अदालतको परमादेशलाई पनि अटेर गरेपछि नेपाल पत्रकार महासंघ मोरङले अजोड इन्स्योसेन्स कम्पनी विरुद्ध अदालतको अवहेलनामा सजायको माग गर्दै गत असार १० गते मुद्दा दर्ता गरेको थियो । उच्च अदालत विराटनगरले असार ११ गते अदालतको अवहेलना मुद्दामा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

उच्चको आदेश बमोजिम बिमा कम्पनी र नेपाल बीमा प्राधिकरणले लिखित जवाफ पेश गरिसकेका छन् ।

अदालतको अवहेलना मुद्दाको फैसला आउनुअघि नै बीमा कम्पनीले २९ जनाको बाँकी भुक्तानी पठाएको छ । गत साउन २२ गते नेपाल पत्रकार महासंघ मोरङको समन्वयमा नेपाल बीमा प्राधिकरणसँग महासंघ कार्यालयमा गरिएको अन्तरक्रियामा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको रकम भुक्तानी गराउने प्रतिबद्धता जनाएका थिए ।