नेपाल रेडक्रस स्थापना दिवस : विपद् पीडित १ हजार ५७९ परिवारलाई ५० लाख बराबरको राहत वितरण

नेपाल रेडक्रस स्थापना दिवस : विपद् पीडित १ हजार ५७९ परिवारलाई ५० लाख बराबरको राहत वितरण


काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बुधबार आफ्नो ६२औं स्थापना दिवस मनाएको छ । ‘मानवतालाई जीवित राखाैं’ भन्ने नाराका साथ देशभर रेडक्रस स्थापना दिवस मनाइएको छ ।

स्थापना दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रेडक्रसको झण्डोत्तोलनसहित विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने स्वयंसेवक र कर्मचारीहरूको योगदानको सराहना गर्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले रेडक्रसमा करिब ११ लाखभन्दा बढी स्वयंसेवक मानवीय सेवाका कार्यहरूमा तल्लीन रहेको बताए ।

उनले हाल नेपाल रेडक्रसअन्तर्गत सात वटा प्रदेश समिति, ७७ जिल्ला शाखा, १ हजार ६१५ उपशाखा, १२० सहयोग समिति र ६ हजार ९३४ जुनियर तथा युवा सर्कलसहितको साङ्गठनिक संरचना रहेको जानकारी दिए ।

नेपाल रेडक्रसले संगठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तहरूको प्रवर्द्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवा जस्ता महत्वपूर्ण गतिविधि सञ्चालन गरिरहेको उनको भनाइ छ ।

हालैको मनसुनका कारण देशका ५५ जिल्लामा आएको बाढी पहिरो र चट्याङका कारण प्रभावित ५ हजार जनालाई खोज तथा उद्धार, प्राथमिक उपचार र सुरक्षित स्थानान्तरणका साथै तयारी खाना वितरणमा रेडक्रसले सहयोग पुर्‍याएको महामन्त्री श्रेष्ठले बताए ।

‘बाढी पहिरो प्रभावित जिल्लाहरूमा तत्काल राहत वितरण गर्नेगरी नेपाल रेडक्रसका विभिन्न गोदामघरहरूबाट हालसम्ममा दुई करोड १७ लाख ७१ हजार रुपैयाँ बराबरका गैरखाद्य राहत सामग्रीहरू कम्बल, त्रिपाल, म्याट्रेस आदि वितरणका लागि पठाएका छौं’, उनले भने, ‘हालसम्म १ हजार ५७९ परिवारलाई ५० लाख रुपैयाँ बराबरको नगद र गैरखाद्य राहत सामग्रीहरू वितरण गरिएको छ ।’

रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का नेपाल प्रमुख अजमत उल्लाले नेपाल रेडक्रस र आईएफआरसीको साझेदारीमा विपद् व्यवस्थापन, जलवायु परिवर्तनबाट पर्ने प्रभाव, स्वास्थ्य र महामारीका साथै सामाजिक समावेशीकरणलगायतका क्षेत्रमा देशव्यापी गतिविधि सञ्चालन भइरहेको जानकारी दिए ।

त्यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का नेपाल कार्यालय प्रमुख सन्देश श्रेष्ठले विगतको द्वन्द्व, भूकम्प र कोभिड महामारीका बेला नेपाल रेडक्रससँग मिलेर गरिएको सहकार्यको स्मरण गरे ।

कार्यक्रममा नेपाल रेडक्रसकी उपाध्यक्ष राधा नेपाली, कोषाध्यक्ष वीरबहादुर बस्नेत, उपमहामन्त्री मनोजकुमार थापाले विपद् तथा महामारीका समयमा रेडक्रसका स्वयंसेवकहरूले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले रेडक्रस अभियानमा युवाहरूको भूमिका र योगदानको चर्चा गर्दै हाल देखिएको जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न नेपाल रेडक्रसका युवाहरूद्वारा चेञ्ज मेकर अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्मचारी संघ र कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा २५ वर्ष काम गरिसकेका कर्मचारीहरूलाई सम्मान, कर्मचारीका छोराछोरीहरूलाई प्रोत्साहनस्वरुप शैक्षिक सहयोग र प्रशंसापत्र वितरण गरिएको छ । त्यस्तै नेपाल रेडक्रस स्थापना दिवसका अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजयी कर्मचारीहरूलाई पुरस्कार र प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।