प्रधानमन्त्री ओलीले गरे कांग्रेस नेताहरूसँग दुई घण्टा छलफल

प्रधानमन्त्री ओलीले गरे कांग्रेस नेताहरूसँग दुई घण्टा छलफल


काठमाडौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग २ घण्टा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा एमालेबाट प्रधानमन्त्री ओलीसँगै उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी थिए । भेटमा कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्री डा। आरजु राणा र गृहमन्त्री रमेश लेखक थिए। कांग्रेस–एमाले गठबन्धनको सरकार बनेको दुई महिना नपुग्दै मन्त्रीहरूबाटै असन्तुष्टिका स्वर बाहिरिएका बेला ६ नेताबीच एकै ठाउँमा बसेर छलफल भएको हो।

साँझ ४ देखि ६ बजेसम्म छलफल चलेको बालुवाटार स्रोतले जानकारी दिएको छ। गठबन्धन निर्माणमा कांग्रेसका लेखक र एमाले महासचिव पोखरेलको मुख्य भूमिका रहेको नेताहरूले स्वीकार गरेका छन्। कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कोसी सरकार विस्तार र गण्डकी सरकारमा देखिएको समस्या समाधानका लागि छलफल भएको बताए।

‘उच्चस्तरीय छलफलको मुख्य कारण नै कोसी र गण्डकी सरकार निर्माणमा देखिएको समस्या समाधानका लागि हो,’ विश्वकर्माले भने। नयाँ गठबन्धनअनुसार सरकार बने पनि कोसीमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। कांग्रेसले मन्त्रीको नाम नदिएका कारण मन्त्रिमण्डलले पूर्णता पाउन नसकेको मुख्यमन्त्री हिक्मत कार्कीले बताएका छन्। तीजअघि नै सरकार विस्तार गर्ने भनिए पनि अहिलेसम्म रोकिएको छ।