कोशी सरकारमा कांग्रेस भोलि सहभागी हुने

कोशी सरकारमा कांग्रेस भोलि सहभागी हुने


काठमाडौं । कोशी प्रदेशमा नेपाली कांग्रेस बिहीबारसम्म मन्त्रीमण्डलमा सहभागी हुने भएका छन् ।

बुधबार कांग्रेस कोशी प्रदेशको पदाधिकारी बैठकले सरकारमा मन्त्री पठाउने निर्णय गरेको कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिए ।

‘कोशी प्रदेशमा नेपाली कांग्रेसका पदाधिकारीको बैठक सकिएको छ र अब मन्त्री टुङ्ग्याउने भन्नेछु,’ सभापति थापाले भने, ‘बेलुकासम्म मलाई नाम आउँछ भन्ने जानकारी छ, त्यो भयो भने हामी भोलि (विहीबार) ९ बजेसम्म सरकार गठन गरिसक्छौं।’

थापाका अनुसार तत्कालका लागि दुई राज्यमन्त्री थप्ने सहमति भएको छ। योसँगै अब एमालेबाट दुई र कांग्रेसबाट २ राज्यमन्त्री हुनेछन् भने मन्त्रीमण्डल ९ क्याबिनेट र ४ राज्यमन्त्रीसहित १३ सदस्यीय हुनेछ ।

सभापति थापाका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी ओलीले फोन गरेर कोशी प्रदेशको समस्या बारे सोधेका थिए ।

यसअघि कोशीमा कांग्रेस सरकारमा सहभागी नभए पनि प्रदेशसभा बैठकमा सत्तापक्षको बेञ्चमा बस्दै आएको थियो । १२ साउनमा एमालेसँगको सहमतिपछि कांग्रेसले दुई दिनभित्रै सरकारमा सहभागी हुने बताएको थियो । तर आन्तरिक भागबण्डा मिलाउन नसकेपछि सरकारमा सहभागी भएको छैन ।