शिवपुरी निकुञ्जमा खानेपानी मुहान विवाद : ५ हजार उपभोक्ता प्रभावित

शिवपुरी निकुञ्जमा खानेपानी मुहान विवाद : ५ हजार उपभोक्ता प्रभावित


काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिका–५ का केही क्षेत्रमा खानेपानीको समस्या देखिएको छ । वडाको छाप टुसाल गाउँमा पानी नआउँदा मारमा परेको स्थानीयले गुनासो गरेका छन् ।

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको पानीको मुहान ट्यांकी निकुञ्जले भत्काइदिँदा बूढानीलकण्ठ छाप टुसाल गाउँमा खानेपानीको हाहाकार मच्चिएको स्थानीयको भनाइ छ ।

छाप टुसाल खानेपानी व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर तामाङले निकुञ्जका वार्डेन डा. गणेश पन्तको आदेशमा मुहानमा रहेको ट्यांकी भत्काएर पानीको पाइप काटिएपछि समस्या भएको आरोप लगाए ।

तामाङका अनुसार स्थानीयकै लगानीमा बनेको ट्यांकी निकुञ्जले भत्काएको हो । उनले निकुञ्जको सहमतिमा अघिल्लो वर्षमात्र १ लाख रुपैयाँ खर्च गरेर ट्यांकी निर्माण गरे पनि अहिले भत्काउँदा पूरै गाउँ समस्यामा परेको गुनासो गरे ।

‘निर्माण गर्दा केही भनेनन्, तर अहिले नियम अनुसार भएन भनेर मुहानमा निर्माण भएको ट्यांकी भत्काएर पाइप काटियो,’ अध्यक्ष तामाङले भने, ‘मुहान निर्माण गरेर गाउँलेले पानी खाइसकेको अवस्थामा निकुञ्जले अमानवीय व्यवहार देखायो, वार्डेनले आदेश दिएर भत्काएको भन्ने बुझिएको छ । हाम्रो छाप टुसाल गाउँका ३ सय घरका ५ हजार मान्छे प्रभावित भएका छन् ।’

अध्यक्ष तामाङ सहित छाप टुसालका स्थानीयले बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा समस्या समाधानका लागि निवेदन समेत दर्ता गराएका छन् ।

बूढानीलकण्ठ–५ का अध्यक्ष कृष्ण शाह ठकुरीका अनुसार निकुञ्जले एउटै मुहान बनाउने भन्दै पानीको सानो ट्यांकी इन्टेक भत्काइदिएको हो ।

‘धेरै वटा मुहान भयो, एकद्वार प्रणालीबाट पानी वितरण गर्नुपर्ने निकुञ्जको कुरा रहेको छ । खानेपानीको अहिले पनि समस्या छ, अब हिउँदमा पनि यस्तै भए झन गाह्रो हुन्छ,’ वडाध्यक्ष शाह अनलाइनखबरसँग भने ।

निकुञ्जले धेरै ठाउँबाट मुहान नभई सबैले पानी लैजाने ठाउँ बाहेक क्षेत्रको संरचना भत्काउँदा ३ सय घर प्रभावित भएको उनको भनाइ छ ।

आफैं गल्ती गरेर अतिरञ्जित गर्ने काम भयो : निकुञ्ज

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जले भने खानेपानी वितरणमा कुनै रोकावट नगरेको जनाएको छ । वार्डेन डा. गणेश पन्तका अनुसार छाप टुसाल खानेपानीले अनुमति पाएको स्थान, इन्टेक संख्या र आकारभन्दा बाहिर गई संरचना बनाएर पानी लगेपछि संरचना हटाएको बताए ।

‘हामीले तोकिएको भन्दा २५–३० मिटर माथि लगेर मुहान बनाउनुभएछ, हामीले एउटा सानो इन्टेक सहितको मुहान भनेका थियौं । तर, उहाँहरूले दुइटा ठूला इन्टेक बनाएर मुहान बनाउन खोेजेपछि रोकेका हौं,’ पन्तले अनलाइनखबरसँग पन्तले भने ।

उनले अनुमति पाएको ठाउँबाट पानी लैजान कुनै रोकतोक नभएको बताए । ‘उहाँहरूलाई खानेपानी समस्या नहुने गरी हामीले तोकेको ठाउँबाट मुहान बनाएर लैजान केही समस्या नै छैन, आफैं गल्ती गरेर अतिरञ्जित गर्ने काम भइरहेको छ । हामीले बूढानीलकण्ठ नगरपालिका, यहाँको सरोकारवाला सहित अनुगमनपछि संरचना हटाएका हौं,’ उनले भने ।

२८ वैशाखमा निकुञ्जको विष्णुद्वारस्थित खानेपानी मुहानको स्थलगत अनुगमन गरेको र ८ जेठमा प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदन अनुसार अनुमति नलिएका दुइटा र अनुमति लिएको स्थान र नाप विपरीत निषेधित क्षेत्रमा निर्माण गरिएको एउटा गरी जम्मा तीनवटा खानेपानीका इन्टेक निकुञ्जका नेपाली सेनाको संयुक्त टोलीले हटाएको थियो ।

निकुञ्जका अनुसार निकुञ्जबाट स्थानीय खानेपानी उपभोक्ता समितिहरू तथा काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई खानेपानी उपलब्ध गराउँदै आएको छ ।

निकुञ्जका अनुसार हालसम्म निकुञ्जको चार किल्लाभित्र परेको मुहानबाट १ सय ६७ खानेपानी उपभोक्ता समितिलाई पानी वितरण हुन्छ भने दैनिक करिब १० लाखभन्दा बढी उपत्यकावासीलाई खानेपानी उपलब्ध हुने गरेको छ ।