ममता काफ्ले प्रकरणमा मनसास पार्क प्रहरीले महत्वपूर्ण सूचना पाएको खुलासा

ममता काफ्ले प्रकरणमा मनसास पार्क प्रहरीले महत्वपूर्ण सूचना पाएको खुलासा


काठमाडौ । अमेरिकाको भर्जिनियास्थित मनसास पार्क प्रहरीले काफ्लेबारे महत्वपूर्ण सूचना र लिडहरु फेला परेको बताएको छ । अमेरिकाको भर्जिनियास्थित मनसास पार्क प्रहरीले मंगलबार सूचना जारी गर्दै नेपाली महिला ममता काफ्लेको अनुसन्धानमा सहयोगी बन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको हो । मनसास पार्क प्रहरीले मंगलबार सूचना जारी गर्दै काफ्लेबारे महत्वपूर्ण सूचना र लिडहरु फेला परिरहेको उल्लेख गरेको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा ‘केहीअघि एक जना व्यक्ति यस्तो जानकारी लिएर आए, जुन यो अनुसन्धानमा एकदमै सहयोगी थियो’ भनिएको छ । प्रहरीले थुनामा रहेका काफ्लेका श्रीमान् नरेश भट्टसँग २८ जुलाइदेखि ५ अगस्टसम्म सम्पर्क गर्नेहरुसँग पनि प्रहरीले सहयोग मागेको छ ।

‘यदि नरेश भट्टसँग सम्पर्क भएको थियो भने मनसास पार्क प्रहरीलाई सम्पर्क गरिदिनु होला’, विज्ञप्तिमा भनिएको छ, ‘हामी त्यस्ता व्यक्तिहरु खोजिरहेका छौं, जोसँग अहिलेसम्म डिटेक्टिभहरुले सम्पर्क गरेका छैनन्, अन्तर्वार्ता गरेका छैनन् ।’ प्रहरीले यो बीचमा पाएको सूचनाका आधारमा ठाउँ–ठाउँमा सर्च अपरेशन चलाइरहेको छ । मनसास पार्क प्रहरीले यसअघि जारी गरेको विज्ञप्तिमा ‘सर्च एण्ड रेस्क्यू टिम’ले ब्लुम्स क्रसिङ कम्युनिटी, मनसास क्रिस्चियन स्कुल, क्याम्प करोन्डेलेट, ब्लुम्स पार्क लगायतका क्षेत्रमा खोजी गरिरहेको बताएको थियो ।

अनुसन्धानसँग सम्बन्धित प्रमाण फेला पर्न सक्ने शंकामा ती क्षेत्रमा खोजी जारी राखिएको प्रहरीले भनाइ थियो । अनुसन्धानमा संलग्नहरुले ती क्षेत्रलाई काफ्लेको खोजीमा चासोको स्थान भएको निष्कर्षसहित टोली परिचालन गरेका हुन् । तर, प्रहरीले त्यहाँबाट संकलन गरेका विषयहरु अनुसन्धानका लागि सहयोगी भए वा भएनन् भन्नेबारे केही बताएको छैन । ममता १५ साउनबाट सम्पर्कविहीन भएकी थिइन् भने घरमा भारी मात्रामा रगत बगेकोसहितका तथ्यहरु फेला परेपछि मनसास पार्क प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो ।

नरेशलाई पक्राउ गरेर लैजाँदा मनसास प्रहरीका अधिकारीहरुले घरबाट कार्पेट पनि लगेका थिए । अदालतमा भएको सुनवाइका क्रममा अभियोजकतर्फका वकिलहरुले गरेको बहस अनुसार, ममता जीवित नभएको प्रहरी निष्कर्ष छ । कोठाभित्र झगडापछि रगक्ताम्ये भएको शरीरलाई बाथरुमसम्म घिसारेर लगेको हुनसक्ने अधिकृतहरुको आशंका छ । अहिले सार्वजनिक भएको कोठा र बाथरुमका तस्वीरहरुले पनि त्यो शंकालाई बल पुर्‍याएको छ ।

तर, हालसम्म त्यसलाई पुष्टि गर्ने आधारमा नहुँदा मानव शरीर लुकाएको कसुरमा मात्र भट्टविरुद्ध मुद्दा छ । उनी पक्षका वकिलहरुले यसमा भट्ट निर्दोष भएको दाबी गर्दै अदालतमा यथाशीघ्र सुनुवाइ गर्न पाउनुपर्ने माग राख्दै आएका छन् ।