प्रधानमन्त्री ओली न्युयोर्कमा

प्रधानमन्त्री ओली न्युयोर्कमा


न्युयोर्क (अमेरिका) – संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका छन् ।

प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरूले स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ ।

प्रधानमन्त्री ओलीले त्यहाँस्थित नेपाली सङ्घसंस्थाले आयोजना गर्ने समारोहलाई आइतबार सम्बोधन गर्ने छन् । यसैगरी महासभामा सहभागी मित्रराष्ट्रका प्रतिनिधि तथा विकास साझेदारसँग ‘साइडलाइन’ वार्ता पनि गर्ने छन् ।

प्रधानमन्त्री ओलीले सम्मेलनमा अतिकम विकसित देशहरूको अध्यक्षको हैसियतले सम्बोधन गर्ने छन्। यसैगरी उनले कोलम्बिया विश्वविद्यालय र हवार्ड विश्वविद्यालयमा नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा र नेपालको परिप्रेक्ष्य सङ्क्रमणकालीन न्यायबाट जलवायु न्यायका विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।