दुई महिनामा साढे ९४ अर्ब सार्वजनिक ऋण थपियो

दुई महिनामा साढे ९४ अर्ब सार्वजनिक ऋण थपियो


चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष सुरु हुँदा २४ खर्ब ३४ अर्ब ९ करोड रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोडबराबर पुगेको छ ।

हालसम्मको कुल सार्वजनिक ऋण मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.३२ प्रतिशतबराबर हो । चालु आर्थिक वर्ष सुरु हुँदा आन्तरिक ऋण ११ खर्ब ८० अर्ब ९० करोडबराबर रहेकोमा भदौ मसान्तसम्ममा बढेर १२ खर्ब ३५ अर्ब ९० करोड पुगेको छ । जीडीपीका आधारमा आन्तरिक ऋणको अनुपात २१.६६ प्रतिशतबराबर हो । यो दुई महिनामा सरकारले ९० अर्ब आन्तरिक ऋण उठाउँदा ३५ अर्बबराबर ऋण तिरेको छ ।

त्यस्तै, भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड छ । चालु आवको सुरुवातमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोडबराबर थियो । पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको सावाँ र ब्याज भुक्तानीमा १४ अर्ब ५ करोड खर्च गरेको छ भने यही अवधिमा ४ अर्ब ६७ करोडबराबर बाह्य ऋण थपेको छ । जीडीपीको तुलनामा बाह्य ऋण २२.६६ प्रतिशतबराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकोमा भदौ मसान्तसम्ममा १ खर्ब ४ अर्ब ५ करोड ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिए । वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८.६६ प्रतिशतबराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको सावाँ र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कुल ४ खर्ब २ अर्ब बजेट छुट्याएको छ । भदौ मसान्तसम्ममा ४७ अर्ब ७१ करोड ५१ लाखबराबर सावाँ ब्याज भुक्तानी भइसकेको छ । यो अवधिको सावाँ ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११.८४ प्रतिशतबराबर हो । जीडीपीका आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च ०.८४ प्रतिशतबराबर हो ।