ओलीले मोदीसँग चुच्चे नक्साको विषयमा कुरा गर्न नसकेको भीम रावलको आरोप

ओलीले मोदीसँग चुच्चे नक्साको विषयमा कुरा गर्न नसकेको भीम रावलको आरोप


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अहिलेको सरकारले पनि मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताएका छन् |

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा रावलले सिद्धान्त नै नमिल्ने दलहरु मिलेर सरकार बनाएको र आलोपालोको कुरा समेत गरेकाले अहिलेको सरकारले मुलुकमा राजनीतिक स्थीरता कायम गर्न नसक्ने बताएका हुन् ।

उनले आफ्नो निश्चित घोषित नीति अनुसार दलहरु चल्न नसक्दा अस्थीरता अन्त्य हुन नसकेको धारणा राखे । रावलले केन्द्रमा सरकार फेरवदलको असर प्रदेशमा परेका कारण प्रदेशले राम्रोसंग काम गर्न नसकेको जिकिर गरे ।

उनले सहकारी छानविन समितिको प्रतिवेदन सरकारले पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने र सहकारी पिडितलाई ठगि गर्नेबाट असुलउपर गरेर उपलव्ध गराउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको विषयमा पनि प्रश्न उठाए । नेता रावलले अमेरिकामा प्रधानमन्त्री ओलीले मादीसँग राष्ट्रिय हितको विषयमा कुनै कुरा गर्न नसकेको टिप्पणी गरे ।

उनले भारतीय नेतृत्वसँग कुरा गर्दा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कालापानी, लिपुलेक र लिम्पियाधूरासहितको चुच्चे नक्साको विषयमा कुरा नउठाएको आरोप लगाए ।