सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न आईबीको टोली पोखरा पठाउने निर्णय

सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न आईबीको टोली पोखरा पठाउने निर्णय


पोखरा उपमहानगरपालिका वडा नम्बर–५ स्थित सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टोली पठाउने निर्णय गरेको छ ।

पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । सूर्यदर्शनको फाइल हेर्ने अनुसन्धान अधिकृतहरूलाई सहयोग गर्ने गरी ‘सपोर्ट टिम’ पठाउन लागिएको सीआईबीका एआईजी दीपक थापाले रातोपाटीलाई बताए ।
उनले भने, ‘संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्णरुपमा अनुसन्धानको विज्ञता गर्ने गरी काठमाडौँबाट टिम पठाउने निर्णय भएको छ ।’

पूर्वडीआईजी जोशी, पूर्व गृहमन्त्री रवि लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) विगतमा राई व्यापारिक साझेदार थिए । उनीहरूले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिको निष्कर्ष छ ।

लामिछाने गोर्खा मिडियाका निर्देशक थिए । सहकारीबाट अवैध तरिकाले ल्याएको करोडौँ रकम उनको हस्ताक्षरबाट चेक काटिएको छ । जोशीसँग प्रारम्भिक बयान लिएर प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको छ ।