मिर्गौलापीडित पत्रकार दियालीलाई सम्पादक श्रेष्ठले गरे आर्थिक सहयोग

मिर्गौलापीडित पत्रकार दियालीलाई सम्पादक श्रेष्ठले गरे आर्थिक सहयोग


काठमाडौँ । दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले मिर्गौलापीडित पत्रकार पिबी दियालीलाई आर्थिक सहयोग गरेका छन् ।

सम्पादक श्रेष्ठले रोटरी क्लब अफ काठमाडौँ वेष्टसँगको सहकार्यमा पत्रकार दियालीलाई नगद एक लाख ८२ हजार आर्थिक सहयोग गरेका हुन् ।

वीर अस्पतालमा उपचाररत पत्रकार दियालीलाई उनले अस्पताल पुगेर उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । त्यस अवसरमा रोटरी क्लब अफ काठमाडौँ वेष्टका प्रेसिडेन्ट देशकुमार श्रेष्ठ पनि उपस्थित थिए ।

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबापत सम्पादक श्रेष्ठले प्राप्त गरेको एक लाख र रोटरी क्लब अफ काठमाडौँ वेष्टले प्रदान गरेको ८२ हजार समावेश गरी पत्रकार दियालीलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

चेक हस्तान्तरण गर्दै सम्पादक श्रेष्ठले जीवनभर देश र जनताका लागि इमानदारीपूर्वक पत्रकारिता गर्ने श्रमजीवी पत्रकारहरू अस्वस्थ हुँदा राज्यबाट उपेक्षित हुनु परेकामा चिन्ता व्यक्त गरे । उनले सहयोगको भावना जागृत गर्ने उद्देश्यले रोटरीसँगको समन्वयमा उक्त रकम प्रदान गरेको बताए ।