रेशम दम्पती मिलेपछि बोलाइयो नाउपाको बैठक

रेशम दम्पती मिलेपछि बोलाइयो नाउपाको बैठक


काठमाडौं- नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अन्तरिक विवाद मिलेको छ । यससँगै महाधिवेशनबाट निर्वाचित र पुरानो केन्द्रीय समितिको संयुक्त बैठक असोज १८ र १९ गते बैठक बोलाइएको छ ।

संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र महाधिवेशनबाट निर्वाचित अध्यक्ष रेशमलाल चौधरीबीच विवाद चर्किएपछि लामो समयदेखि बैठक नै बस्न सकेको थिएन । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् ।

नेताहरुका अनुसार सोमबार ७ भदौमा दुबै जनाबीच सहमति भयो । लगत्तै संयुक्त बैठक बोलाइएको सूचनामा ‘…आपसी मतभेदलाई मत्थर पारी हामी भएका हौं र एक रहने छौं’, भन्ने सन्देशसहित रेशम र रञ्जिता दुबैले हस्ताक्षर गरेका छन् ।

महासचिव गंगाराम चौधरी भन्छन्, ‘मिल्नुबाहेक विकल्प थिएन । उहाँहरु मिल्दा कार्यकर्ता खुसी भएका छन् । अब संगठनको काममा लाग्छौं ।’

पदाधिकारी र केन्द्रीय सदस्यलाई नाउपाले लेखेको पत्र