साइबर अपराध न्यूनिकरणको अनुसन्धानमा मात्र होइन सचेतनामा पनि सक्रिय छ प्रहरी

साइबर अपराध न्यूनिकरणको अनुसन्धानमा मात्र होइन सचेतनामा पनि सक्रिय छ प्रहरी


काठमाडौं– अहिले बढीरहेको साइबर अपराध न्यूनिकरणमा विभिन्न मुद्दाको अनुसन्धानमा मात्र होइन, त्यस्ता घटना हुन नदिने सचेतनामा पनि उपत्यका प्रहरी कार्यालय रानीपोखरी सक्रिय रहेको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनाका कार्यक्रम सम्भावित क्षेत्र विद्याललगायतमा सचेतना अनिवार्य रहेको उसको ठम्याई छ।

यहि क्रममा काठमाडांै प्रज्ञाकुञ्ज स्कुल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, बानेश्वरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) किरण बज्राचार्यले यसबारे बालबालिकालाई प्रवचन दिएकी छन्।

साईबर अपराध बारे शिक्षक, विद्यार्थीहरु एवं अभिभावकहरुको चेतनामा अभिवृद्धि गर्न, विद्यालयको सामाजिक उत्तरदायित्वको वहन गर्नुका साथै प्रहरी–शैक्षिक संस्था–अभिभावक बीचको सम्बन्ध स्थापित गर्ने प्रमुख उद्देश्यका साथ कार्यक्रम भएको थियो।

सो क्रममा एआईजी बज्राचायले भनिन्,‘साईबर अपराधमा कानूनको अनविज्ञताले गर्दा विद्यार्थीहरू कानूनी उल्झनमा पर्ने गरेका हुन्छन्।  त्यस्तोमा नपर्न सामाजिक सञ्जालमा च्याट गर्दा विशेष ध्यान दिनुपर्छ, प्राइभेसी र सेक्युरिटी सेटिङमा पनि ध्यान दिनुपर्छ।’

अनलाईनमा समानहरू मगाउने, जागिर खोजिदिने, युरोपलगायतका विदेशी मुलुकमा पठाईदिने भन्ने विज्ञापनको प्रलोभन देखाएर आउने विज्ञापनलगायतको लोभमा पनि पर्न नहुने बज्राचार्यको भनाई थियो।

‘आफ्ना छोराछोरीहरूलाई मोबाइल वा डिजिटल सामाग्री प्रयोग गर्दा अनलाईनमा के– कस्ता कृयाकलापहरु गरिरहेका छन् त्यसमा पनि अभिभावकले विशेष ध्यान दिनुपर्छ’, उनले जोडिन्।

अपराध रोकथाम र नियन्त्रणमा प्रहरीको साथ–साथै जनसमुदायको भूमिका पनि महत्वपूर्ण रहेकाले नागरिकहरुको सूचना र सहकार्य विना समाजमा शान्ति सुरक्षा र अमनचयन कायम गराउन सम्भव नहुने हुनाले नेपाल प्रहरीले सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गरिरहेको बज्राचार्यको भनाई थियो।

कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक बसन्त रजौरे, प्रहरी कर्मचारीहरू, शिक्षक÷शिक्षिकाहरु, अभिभावकहरु, विद्यार्थीहरु  लगायतको उपस्थिति रहेको थियो।