‘हनि ट्रयापर’सँग मिलेमतो गरेकी इन्स्पेक्टर बिनु शाहीलाई निलम्बनको सिफारिस

‘हनि ट्रयापर’सँग मिलेमतो गरेकी इन्स्पेक्टर बिनु शाहीलाई निलम्बनको सिफारिस


काठमाडौं– भैंसेपाटी प्रहरी परिसरबाट तानिएकी इन्स्पेक्टर बिनु शाहीलाई निलम्बनको सिफारिस भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले प्रारम्भिक छानबिन गर्दै शाहीलाई निलम्बनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सिफारिस गरेको हो।

हनि ट्रयापरसँग मिलेर ३० लाख रकम एक्स्टर्सन गरेको प्रकरणमा प्रभाग प्रमुख रहेकी शाहीको मिलोमतो भएको भेटिएको छ।

परिसरका डीएसपीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बुधबार नै बनेको थियो।

भैँसेपाटी प्रभागले गत ७ असोजमा एक व्यवसायीलाई शान्ति सुरक्षासम्बन्धी मुद्दामा पक्राउ गरी थुनामा राखेर बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरेर छाडेको खुलेको थियो।

घटनामा संलग्न दुईजनालाई पक्राउ गरी आपराधिक लाभ मुद्दामा अनुसन्धान अघि बढाइएको र प्रहरीको भूमिकाको विषयमा छानबिनपछि निलम्बन सिफारिस गरिएको हो। छानबिन समितिले इन्स्पेक्टरको मोबाइलसमेत नियन्त्रणमा लिएर अनुसन्धान गर्दा केही तथ्य फेला परेका छन्।

केही महिनाअघि सुनसरीमा चिनजान भएकी एक युवतीले ती व्यापारीलाई भैँसेपाटीमा भेट्न बोलाएको र प्रहरीले उनलाई पक्राउ गरी भैँसेपाटी प्रभाग लगेको थियो। बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरी भेट्न बोलाएकी युवतीले ६० लाख रुपैयाँ माग गर्छिन्। तर पछि ३० लाख रुपैयाँमा सहमति हुन्छ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा हुन्छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुटेका थिए।
प्रारम्भिक छानबिनमै प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएको थियो।