अग्नि सापकोटाको मुद्दामा अनुसन्धानको प्रगति विवरण पेश गर्न आदेश

अग्नि सापकोटाको मुद्दामा अनुसन्धानको प्रगति विवरण पेश गर्न आदेश


पूर्वसभामुख एवं माओवादी नेता अग्नि सापकोटाको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले अनुसन्धानको प्रगति विवरण पेश गर्न आदेश दिएको छ।

२०७२ बैशाख ८ गतेको परमादेशको आदेशबमोजिम १५–१५ दिनमा जाहेर गर्नुपर्ने अनुसन्धानको प्रगति विवरण उद्यावधिक नभएको भन्दै संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।

‘…अदालतको अन्तरिम आदेशपश्चात हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन ? नभएको भए के कारणबाट हुन नसकेको हो ? साथै यस सन्दर्भमा पूर्वादेशअनुसार नियमित रुपमा प्रगति प्रतिवेदन प्राप्त हुन आएको भन्ने पनि मिसिलबाट नदेखिएको हुँदा सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाही सम्बन्धी सक्कलै फाइल पेशीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि अगाउका निवेदनहरुसमेत साथै राखी  नियमानुसार पेश गर्नू’ आदेशमा भनिएको छ।

पूर्णिमाया लामाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई दायर गरेको मुद्दामा संवैधानिक इजलासले यस्तो आदेश दिएको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिदा हुनुअघि उनी सम्मिलित संवैधानिक इजलासले सर्वोच्चमा रहेको पुरानामध्येको एक मुद्दामा आदेश गरेकाे हाे। प्रधानन्यायाधीश श्रेष्ठ २० असोजमा सेवानिवृत्त हुँदैछन्।