पूर्व रक्षा मन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने

पूर्व रक्षा मन्त्री इशिबा जापानको प्रधानमन्त्री बन्ने


काठमाडौँ । सत्तारूढ पार्टीको नेतृत्वका लागि भएको मतदानमा विजयी भएपछि पूर्व रक्षा मन्त्री शिगेरु इशिबा जापानको आगामी प्रधानमन्त्री बन्ने आधिकारिक मतगणनाले देखाएको छ ।

सतसठ्ठी वर्षीय रेल प्रेमी इशिबाले मुलुकको पहिलो महिला नेता बन्ने दौडमा रहेकी कट्टर राष्ट्रवादी सनाए ताकाइचीलाई एक सय ९४ विरुद्ध दुई सय १५ मत ल्याएर पराजित गरेका थिए ।

टोक्योमा लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) को मुख्यालयमा आफ्नो विजय घोषणा भएपछि इशिबाले मुस्कुराउँदै आफ्नो चस्मा फुकालेर आँसुले भरिएका आँखा पुछे र आफ्ना सहयोगीहरूले बधाई दिँदा बारम्बार शिर झुकाए । “म जनतामा विश्वास गर्न, साहस र इमानदारीका साथ सत्य बोल्न र यस मुलुकलाई पुनः एक पटक सबै जना मुस्कानसहित बस्न सक्ने सुरक्षित स्थान बनाउन पूरा कोसिस गर्नेछु”, आफ्नो संक्षिप्त सम्बोधनमा उनले भने ।

इशिबा पहिले पनि शीर्ष पदको नजिक पुगेका थिए । सन् २०१२ मा उनी राष्ट्रवादी शिन्जो अबेसँग पराजित भएका थिए । जापानमा एलडिपीले दशकौँदेखि करिब निरन्तर शासन गरेको छ र बहुमत कायम राखेको छ । यसको अर्थ इशिबालाई मंगलबारसम्म संसद्ले प्रधानमन्त्री चुन्नेछ । सन् १९७० को दशकमा पप आइडलहरूप्रति झुकाव राख्ने सैन्य मोडल निर्माता इशिबाले कृषि सुधारजस्ता कठिन मुद्दाहरू सम्हाल्ने आफ्नो अनुभवले आफूलाई यो पदका लागि योग्य बनाएको बताए ।