मनाङमा अविरल वर्षासँगै पहिरो, विद्युत र संचार सेवा अवरुद्ध

मनाङमा अविरल वर्षासँगै पहिरो, विद्युत र संचार सेवा अवरुद्ध


मनाङ । मनाङ जिल्लामा निरन्तर परेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। पहिरोका कारण विभिन्न क्षेत्रमा विद्युत, इन्टरनेट र मोबाइल नेटवर्कमा अवरोध आएको छ भने सडक अवरुद्ध हुँदा आवागमन पनि कठिन बनेको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार असोज १० गतेदेखि जिल्लामा निरन्तर पानी परिरहेको छ। वर्षाको कारण पहिरो जाँदा जिल्लाका विभिन्न क्षेत्रमा विद्युतका पोलहरूमा क्षति पुगेपछि केन्द्रीय विद्युत् प्रशारण हिजोदेखि नै अवरुद्ध भएको छ। ‘विद्युत् अवरुद्ध हुँदा राति १:३० बजेदेखि बिहान ६:१५ बजेसम्म सम्पूर्ण संचार सेवा ठप्प भएको थियो। हाल भने विद्युत्, इन्टरनेट र मोबाइल नेटवर्क पुनः सञ्चालनमा आएको छ’ प्रमुख जिल्ला अधिकारी आचार्यले  भने ।

वर्षाले बेसिशहर-चामे सडकखण्डको लमजुङतर्फ पर्ने रामबजार र च्याम्चे क्षेत्रमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध पारेको छ। पहिरो हटाउने कार्य जारी रहेको र यातायात सञ्चालनका लागि सम्भवतः केही दिन लाग्न सक्ने आचार्यले जानकारी गराए। ‘सडक मर्मत कार्यलाई द्रुतगतिमा अघि बढाइरहेका छौं, तर वर्षा नरोकिएकाले केही कठिनाइ छ,’ उनले थपे।

त्यस्तै, जिल्लाका उच्च पहाडी क्षेत्रहरू हुम्डे, नार, र फु लगायतका स्थानहरूमा हिमपात भएको छ जसले गर्दा जनजीवन सामान्य रूपमा प्रभावित भएको छ। हिमपात र अविरल वर्षाको कारण सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले विशेष गरी पदयात्री, पर्यटक, र सवारी साधनलाई स्थिति पूर्ण रूपमा सामान्य नभएसम्म यात्रा नगर्न र यात्रा गर्दा आवश्यक सुरक्षा मापदण्डहरू अपनाउन अनुरोध गरेको छ। ‘मौसमको अनिश्चिततालाई ध्यानमा राखेर मात्रै यात्रा तय गर्न भनेका छौँ,’ प्रमुख जिल्ला अधिकारी आचार्यले आग्रह गरे।

अविरल वर्षा र पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुँदा खाद्यान्न र औषधि आपूर्तिमा समेत कठिनाइ आउने सम्भावना रहेकोले प्रशासनले स्थानीय तहसँग समन्वय गरी आपूर्ति व्यवस्थापनका लागि आवश्यक तयारी अघि बढाएको जनाएको छ। जिल्लामा मौसम सुधार भएलगत्तै पहिरो पन्छाउने र विद्युत आपूर्ति पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।