वर्षाजन्य विपद् भएको क्षतिप्रति काँग्रेस सभापतिद्वारा दुःख व्यक्त

वर्षाजन्य विपद् भएको क्षतिप्रति काँग्रेस सभापतिद्वारा दुःख व्यक्त


देशको अधिकांश भू-भागमा वर्षाका कारण बाढी पहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

अविरल वर्षाका कारण व्यक्तिको मृत्यु र भौतिक सम्पत्तिको क्षति भएकामा उनले दुःख व्यक्त गरेका हुन्। “मानिसहरू बेपत्ता र घरबारविहीन भई विस्थापित हुनका साथै सयौँ व्यक्तिहरू घाइते भएका छन् । राजमार्गका अधिकांश स्थानमा सडक मार्ग अवरुद्ध भएको छ । सम्पूर्ण पीडितको यो संवेदनशीलताप्रति काँग्रेसका तर्फबाट सहानुभूति प्रकट गर्दै यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु”-सभापति देउवाले आज जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

यस घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय एवं भौतिक क्षति रोक्न तीन वटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रूपले ध्यान केन्द्रित गर्न पनि उनले आग्रह गरेका छन् ।

सम्पर्कविहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ ।

स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले निदेश समेत दिएका छन् । दलका साथीलाई व्यवस्थित ढंगले प्रभावकारी रूपमा कार्य गर्न आग्रह गर्दै उनले यो विपत्तिको सामना संयम् र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी-दाजुभाइमा सभापति देउवाले अपिल गरेका छन् ।

प्राकृतिक विपत्तिमा जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन् ।